स्वस्थ आमा, स्वस्थ शिशु अभियान: सुन्दरहरैँचाका १२ वटै वडामा गर्भवती महिलालाई पोषण सामग्री वितरण


shiva
Single Before Content Ad

सुन्दरहरैँचा, मोरङ । शिव भट्टराई भोजपुरे 

सुन्दरहरैँचा नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य तथा पोषण अवस्थालाई सुधार गर्ने उद्देश्यले नगरका १२ वटै वडामा गर्भवती महिलाका लागि पोषण सामग्री वितरण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत नगरभरिका २७४ जना गर्भवती महिला लाभान्वित हुने भएका छन्।प्रत्येक गर्भवती महिलालाई १ केजी घ्यु, मटर, चना दाल, नुन र ६ केजी गहुँको पिठो लगायतका पोषण सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ। वडास्तरका स्वास्थ्य संस्थामार्फत सामग्री वितरण भइरहेको छ।

नगर उपप्रमुख अकली चौधरीले गर्भावस्थामा सन्तुलित पोषण अत्यन्त आवश्यक हुने भएकाले नगरपालिकाले लक्षित वर्गका महिलालाई प्रत्यक्ष राहत पुग्ने गरी कार्यक्रम सञ्चालन गरेको बताइन्। उनले स्वस्थ आमा र स्वस्थ शिशु निर्माणका लागि पोषणमा गरिएको लगानी भविष्यका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै नियमित स्वास्थ्य परीक्षणसँगै पोषणयुक्त खानपानमा ध्यान दिन आग्रह गरिन्।

यस्तै, वडा नं. ८ का अध्यक्ष खेम न्यौपानेले नगरपालिकाको यो अभियानले गर्भवती महिलामा पोषणको पहुँच बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले स्थानीय तहबाट स्वास्थ्य र पोषणसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमै प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए।

नगरपालिकाका अनुसार गर्भवती महिलामा कुपोषण न्यूनीकरण गर्दै सुरक्षित मातृत्व प्रवर्द्धन गर्ने लक्ष्यसहित यो कार्यक्रम नगरका सबै १२ वटै वडामा सञ्चालन गरिएको हो। कार्यक्रमबाट गर्भवती महिलाको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार आउने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार