सुन्दरहरैँचा ।शिव भट्टराई भोजपुरे ।
मोरङको सुन्दरहरैँचा–१२, विराटचोकस्थित मा त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र कोशी प्रदेशका सामुदायिक तथा आङ्गिक क्याम्पसका प्रमुख एवं सञ्चालक समितिका पदाधिकारीबीच शुक्रबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. भोला थापा, त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुका नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेल तथा त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सहनियन्त्रक प्रा.डा. गोविन्द गुरागाईं लगायतको सहभागीता रहेको थियो।

सुकुना बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षता तथा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा सामुदायिक तथा आङ्गिक क्याम्पसका समस्या, चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो।

छलफलका क्रममा दमक क्याम्पस, हिले क्याम्पस, त्रिदेव क्याम्पस चारआली, सुनसरी क्याम्पस तथा तरहरा क्याम्पसका प्रमुख तथा अध्यक्षलगायतले सामुदायिक क्याम्पसले भोगिरहेका समस्या, विश्वविद्यालयसँगको समन्वय तथा सुधारका सम्भावित उपायहरू प्रस्तुत गरेका थिए।
त्यस्तै, मेची क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस तथा नर्सिङ क्याम्पस विराटनगरका प्रमुखहरूले आङ्गिक क्याम्पसका समस्या प्रस्तुत गर्दै त्यसको समाधानका लागि आवश्यक पहलका विषयमा सुझाव दिएका थिए।
कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले निश्चित मापदण्डका आधारमा सामुदायिक क्याम्पसहरूलाई आङ्गिक क्याम्पसमा रूपान्तरण गर्ने विषयमा त्रिभुवन विश्वविद्यालयले आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने धारणा राखे। उनले यसका लागि स्थानीय तहबाट त्रिविलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेलले परीक्षालाई नियमित, व्यवस्थित र मर्यादित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
त्यसैगरी त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले विश्वविद्यालयमा रहेका विकृति तथा विसङ्गति हटाउँदै क्याम्पस–मैत्री वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले क्याम्पसका समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
कार्यक्रममा कोशी प्रदेशका विभिन्न सामुदायिक तथा आङ्गिक क्याम्पसहरूको प्रतिनिधित्व रहेको थियो। छलफलले त्रिभुवन विश्वविद्यालय र क्याम्पसहरूबीचको समन्वय थप प्रभावकारी बनाउँदै उच्च शिक्षाका समस्या समाधानका लागि साझा पहल गर्ने वातावरण निर्माण गरेको सहभागीहरूले बताएका छन्।




