पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पन्ना थापा नियुक्त, पदभार ग्रहण


Single Before Content Ad

सुन्दरहरैचा।भाद्र १८ गते, शिव भट्टराई भोजपुरे 

उच्च शिक्षा, विश्वविद्यालय प्रशासन तथा अनुसन्धानका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका प्रा.डा. पन्ना थापा पूर्वाञ्चल विश्वविद्यालयको रजिष्ट्रार पदमा नियुक्त हुनुभएको छ। नियुक्तिपछि उहाँले बुधबार पदभारसमेत ग्रहण गर्नुभएको छ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुजन बाबु मरहट्टाको सिफारिसमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहले प्रा.डा. थापालाई रजिष्ट्रार पदमा नियुक्त गर्नुभएको हो।

नवनियुक्त रजिष्ट्रार प्रा.डा. थापालाई शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा उपकुलपति प्रा.डा. मरहट्टाले शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।

शपथ ग्रहण कार्यक्रममा मन्त्री पोखरेलले विश्वविद्यालयको सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि तथा समग्र विकासका लागि विश्वविद्यालयका पदाधिकारीबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। विश्वविद्यालयलाई उत्कृष्ट तथा अनुसन्धानमुखी संस्थाका रूपमा विकास गर्न सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रा.डा. थापाले बंगलादेशको ढाका विश्वविद्यालयबाट B.Pharm र M.Pharm उपाधि हासिल गर्नुभएको छ। त्यसपछि बेलायतस्थित University of Strathclyde बाट “Studies of a Lyophilised Nasal Delivery System” विषयमा विद्यावारिधि (PhD) गर्नुभएको हो।

औषधि निर्माण, औषधि वितरण प्रणाली, बायोफार्मास्युटिक्स, फार्मास्युटिकल बायोटेक्नोलोजी तथा नियामक विज्ञान उहाँका प्रमुख अनुसन्धान क्षेत्र हुन्।

तीन दशकभन्दा लामो प्राज्ञिक यात्राका क्रममा उहाँले काठमाडौं विश्वविद्यालयमा लेक्चररबाट सेवा सुरु गरी पूर्ण प्राध्यापक, फार्मेसी विभाग प्रमुख, School of Science का डीन, परीक्षा नियन्त्रक तथा उपकुलपतिका शैक्षिक सल्लाहकारलगायत महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँले मध्यपश्चिम विश्वविद्यालयको सेवा आयोगको अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो।

पूर्वाञ्चल विश्वविद्यालयले पछिल्लो समय शैक्षिक गुणस्तर अभिवृद्धि, परीक्षा व्यवस्थापन सुधार, प्रभावकारी प्रशासनिक सेवा, डिजिटल सेवा प्रवाह तथा अनुसन्धानमुखी वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ। यस्तो अवस्थामा प्रा.डा. थापाको प्राज्ञिक तथा प्रशासनिक अनुभवले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा संस्थागत सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार