सुन्दरहरैँचा (मोरङ) :भाद्र १६ गते
मोरङको सुन्दरहरैँचा–१२ स्थित इन्द्रपुर नमुना इङ्लिस स्कुलका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूले बाढीपीडितको सहयोगका लागि रु. १७ हजार आर्थिक सहयोग गरेका छन्।

विद्यालयको नमुना बाल क्लबको पहलमा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (Prime Minister’s Disaster Relief Fund) मा जम्मा गरिएको हो।
बाढीका कारण प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विद्यालयले सञ्चालन गरेको अभियानमा विद्यार्थी तथा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो। सानै उमेरदेखि सामाजिक उत्तरदायित्व, सहयोग र मानवीय सेवाको भावना विकास गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूले आर्थिक सहयोगमार्फत विपदमा परेकाहरूलाई साथ दिनुका साथै मानवता, सहयोग र सामाजिक जिम्मेवारीको व्यवहारिक पाठसमेत सिकेका छन्।विद्यालय परिवारले विपद्को समयमा पीडितहरूको सहयोगका लागि सबै पक्षबाट हातेमालो गर्नुपर्नेमा जोड दिएको छ।




