सुन्दरहरैँचा । भाद्र १६ गते
विपद्को पीडामा परेका परिवारको दुःखमा साथ दिन सुन्दरहरैँचा–८, सलकपुरस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलका विद्यार्थीहरूले उदाहरणीय मानवीय पहल गरेका छन्।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले विद्यालयका बालबालिकाले स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरेका हुन्। विद्यार्थीहरूले संकलन गरेको उक्त रकम PABSON मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको विद्यालयले जनाएको छ।

सानै उमेरमा विपद्मा परेका मानिसप्रति सहयोग र सहानुभूतिको भावना विकास गराउने उद्देश्यले गरिएको अभियानमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आफ्ना स–साना बचत तथा उपलब्ध स्रोतबाट रकम जुटाएर विपद्मा परेकालाई सहयोग गर्ने उनीहरूको प्रयासले सामाजिक उत्तरदायित्वप्रतिको चेतना झल्काएको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल टीकाराम ढकालको प्रेरणा र नेतृत्वमा विद्यार्थीहरूले अभियान अघि बढाएका हुन्। प्रिन्सिपल ढकालले शिक्षा केवल किताब र कक्षाकोठामा सीमित नभई मानवीय व्यवहार र सामाजिक जिम्मेवारीसँग पनि जोडिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “बालबालिकाले दिएको रकमको मूल्य पैसाले मात्र मापन गर्न सकिँदैन। उनीहरूले दिएको सहयोगसँगै विपद्मा परेकाप्रति माया, सहानुभूति र समाजप्रतिको जिम्मेवारी पनि दिएका छन्।”
ब्राइट फ्युचरका विद्यार्थीहरूको यो पहलले विपद्को समयमा उमेरभन्दा ठूलो मानवीय भावना हुने सन्देश दिएको छ। उनीहरूको सानो सहयोगले प्रभावित परिवारलाई राहतसँगै आफूहरू एक्लो नभएको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।
साना हातले जुटाएको सहयोग, विशाल हृदयले दिएको साथ—ब्राइट फ्युचरका बालबालिकाको यो कदम साँच्चिकै अनुकरणीय बनेको छ।




