शिव भट्टराई भोजपुरे/ “सुरक्षित मानिस, संरक्षित वन्यजन्तु, जैविक विविधताको सदुपयोग समृद्धिको सेतु” भन्ने मूल नाराका साथ ३१ औँ वन्यजन्तु सप्ताह २०८३ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भारोमेन्ट एण्ड फोरेस्ट्रीमा विविध कार्यक्रम गरी मनाइएको छ।

वैशाख १ देखि ७ गतेसम्म सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रममा “वन्यजन्तु संरक्षण हाम्रो साझा जिम्मेवारी” भन्ने सन्देशलाई केन्द्रमा राख्दै विभिन्न सचेतनामूलक तथा सहभागितामूलक गतिविधि आयोजना गरिएको थियो।
कार्यक्रम अन्तर्गत पहिलो दिन उद्घाटन तथा छलफल कार्यक्रम सम्पन्न गरिएको थियो भने दोस्रो दिन सामुदायिक वन क्षेत्रमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। तेस्रो दिन विश्वविद्यालय परिसरभित्र वृक्षारोपणसँगै वन्यजन्तुको महत्वबारे अन्तरक्रिया आयोजना गरिएको थियो।
चौथो दिन चरा अवलोकन, जंगल हिँडडुल तथा विद्यालय परिसर सरसफाई कार्यक्रम गरिएको थियो। पाँचौँ दिन वन्यजन्तुको महत्वबारे अनुभव आदानप्रदान तथा फेस पेन्टिङ कार्यक्रम आयोजना गरिएको थियो भने छैटौँ दिन नाराबाचन तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको थियो।
सातौँ तथा अन्तिम दिन कलेज डिरेक्टरको अध्यक्षतामा विज्ञान संकायका सहायक डिन तथा प्रशासन प्रमुख देवी कट्टेलको उपस्थितिमा विद्यार्थीसँग अन्तरक्रिया गरी कार्यक्रम समापन गरिएको थियो। कार्यक्रममा विद्यार्थीतर्फबाट संयोजकको भूमिका गौतम पाठकले निर्वाह गरेका थिए भने शिक्षकतर्फबाट मदन थापाले कार्यक्रम संयोजन गर्नुभएको थियो।
वन्यजन्तु सप्ताह आयोजना गर्न कलेज र कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच सहकार्य भएको थियो। मन्त्रालयअन्तर्गत FLB-EH मार्फत कार्यक्रमका लागि आर्थिक सहयोग उपलब्ध गराइएको कलेजले जनाएको छ।
यस प्रकारका कार्यक्रमले वन्यजन्तु संरक्षणप्रति सचेतना अभिवृद्धि गर्न र जैविक विविधताको महत्वबारे समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

