सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव-‘२०८१’ हुने, थारु संस्कृति सङ्ग सम्बन्धित प्रदर्शनी हुने


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैँचामा ‘प्रथम थारु माघी महोत्सव-२०८१’ हुने भएको छ । थारू सांस्कृतिक संग्रहालयद्वारा आयोजित प्रथम थारु माघी महोत्सव २०८१ सप्ताहव्यापी मनाउने भएको हो ।माघी पर्वको अवसरमा सुन्दरहरैँचा ४ मा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा यहीँ माघ १ गते देखि ७ गते सम्म माघी महोत्सव हुने भएको हो ।सुन्दरहरैँचा वडा नं ४ दुलारी स्थित हवेली टोलमा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयको परिसरमा साताव्यापी महोत्सव हुने भएको हो ।

कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि-सभ्यता पहिचान सहितको संस्कार र सस्कृती भन्ने मूल नाराको साथ महोत्सव गर्न लागिएको मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । माघी महोत्सवमा थारु खानपिन/परिकार, प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, प्रदर्शनी लगायतका करिब ७० भन्दा बढी स्टलहरू रहने छ ।

माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक तेज नारायण चौधरीले बताए ।महोत्सवमा थारु सांस्कृतिक झाँकी र्‍याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन तथा दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने संयोजक चौधरीले बताए ।

‘महोत्सवमा ४० वटा औद्योगिक र ३० वटा खानपिनको स्टल हुनेछ । त्यसका साथै हामीले स्थानीय स्तरका कलाकारहरूको प्रस्तुतिलाई समेत विशेष प्राथमिकता दिएका छौ ।’ संयोजक चौधरीले भने ।महोत्सवमा कृषि, उद्योग, व्यापार, पर्यटन, शैक्षिक क्षेत्र, आइटी, होटेलका स्टलहरू, मनोरञ्जनात्मक खेलहरू रहने उनले बताए । थारु सङ्ग्रहालयमा थारु संस्कार र संस्कृति झल्किने सामाग्रीहरू राखिने सङ्ग्रहालयका अध्यक्ष चिन्तिलाल चौधरीले बताए ।

‘हामीले यो सङ्ग्रहालयलाई थारु जातिको सभ्यता संस्कार संस्कृति आदिको अध्ययन गर्ने केन्द्र बनाउने उद्देश्य राखेको छौ । यो उद्देश्य पूरा गर्न हामीलाई स्थानीय र प्रदेश सरकारको सहयोग आवश्यक छ।’ उनले भने ।थारु सांस्कृतिक सङ्ग्रहालयको स्थापना गर्न स्थानीय सरकारको तर्फबाट सक्दो भूमिका खेल्ने सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर अकली चौधरीले बताइन् ।

नगरपालिकाले सांस्कृतिक सङ्ग्रहालयको जग्गा घेरावारिको लागि १० लाख रुपैयाँ बजेट छुट्टाएको र सङ्ग्रहालय निर्माणका लागि २० लाख रुपैयाँ बजेट छुटाउने समेत उनले प्रतिबद्धता व्यक्त गरिन् ।उपमेयर चौधरीले महोत्सवमा स्थानीय कला र कलाकारलाई पर्याप्त स्थान र समय दिन आयोजकलाई आग्रह समेत गरिन् ।

महोत्सवको व्यवस्थापनका लागि करिब ६० लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । महोत्सवमा दैनिक ५० लाख देखि १ करोड सम्मको व्यापार हुने साथै दैनिक १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सवमा अपाङ्ग र विद्यालयका विद्यार्थीहरूका लागि साँझ ५ बजेसम्म प्रवेश निःशुल्क रहेको समेत आयोजकले जनाएको छ । थारु जातिहरूको संस्कार, संस्कृति, सभ्यता चिनाउने र भावी पीढीहरूका लागि पुरातात्त्विक सम्पदा पहिचान गराउने उद्देश्यका साथ स्थापित थारु सङ्ग्रहालय सुन्दरहरैँचा ४ ले महोत्सवबाट आम्दानी भएको रकमलाई थारु सांस्कृतिक सङ्ग्रहालयको भवन निर्माण लगायत संस्थागत सामाग्रीहरूको खरिद गर्ने उद्देश्य राखेको आयोजकको भनाई छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार