सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे। भाद्र २ गते
द भ्वाइस किड्स सिजन–५ की फाइनलिस्ट, मोरङको सुन्दरहरैँचा–७ निवासी तथा ज्ञान ज्योति इङ्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत प्रतिभाशाली छात्रा कबिना राईलाई विद्यालयले भव्य स्वागत तथा सम्मान गरेको छ।

विद्यालय परिसरमा आयोजित स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा कबिनालाई विद्यालय परिवार, अभिभावक तथा शुभेच्छुकहरूले बधाई तथा आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।
सोही अवसरमा ज्ञान ज्योति इङ्लिस स्कुलका प्रिन्सिपल देवी सिटौलाले कबिना राईलाई कक्षा १० सम्म पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन्। कबिनाको प्रतिभा, मेहनत र सफलतालाई प्रोत्साहन गर्दै विद्यालयले उनको शैक्षिक यात्रामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

कार्यक्रममा कबिनाका आमा–बुवा तथा परिवारका सदस्यहरूले पनि छोरीको सफलताप्रति खुसी व्यक्त गर्दै उनलाई थप प्रगतिको शुभकामना दिएका थिए। कबिनाले द भ्वाइस किड्सको फाइनलसम्मको यात्रा तय गर्न पाएकोमा आफूलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
कबिनाले विशेषगरी ज्ञान ज्योति इङ्लिस स्कुलका प्रिन्सिपल देवी सिटौला, ‘कबिना राई जिताउ अभियान’का संयोजक शम्भु राई, सञ्चारकर्मी शिव भट्टराई भोजपुरे लगायत सम्पूर्ण सुन्दरहरैँचावासी तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरिन्।उनले संगीतसँगै आफ्नो शैक्षिक यात्रालाई पनि निरन्तरता दिँदै शिक्षा र संगीतलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
कार्यक्रममा बोल्दै कबिनाका अभिभावकले छोरीको प्रतिभालाई पहिचान गरी विद्यालयले शैक्षिक तथा सिर्जनात्मक क्षेत्रमा प्रोत्साहन गरेकोमा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै कबिनाको आगामी सांगीतिक यात्रामा पनि सबैको साथ र सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नु भएको छ।
कबिना राईको सफलताले सुन्दरहरैँचा मात्र नभई समग्र मोरङको कला तथा सांगीतिक क्षेत्रमा नयाँ उत्साह थपिएको छ। उनको प्रतिभा र मेहनतलाई निरन्तर प्रोत्साहन गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्ने अपेक्षा गरिएको छ।




