सुन्दरहरैंचा । शिव भट्टराई भोजपुरे, भदौ २ गते।
सुन्दरहरैंचा नगरपालिका र नोबेल मेडिकल कलेजबीच नगरवासीलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
सोमबार नोबेल मेडिकल कलेजका कार्यकारी प्रमुख दिपेश राई र सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार सुन्दरहरैंचा नगरवासीले नोबेल मेडिकल कलेजमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। यस्तै, सिनामंगलस्थित केएमसीमा २५ प्रतिशत तथा भक्तपुरको दुवाकोटस्थित केएमसीमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सरल र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले सम्झौता गरिएको सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ।
सम्झौताले आर्थिक रूपमा उपचारमा सहजता ल्याउनुका साथै नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




