न्यूरो अस्पताल र नोबेल मेडिकल कलेजबीच सहकार्य, अतिविपन्न विरामीले थप सहुलित पाउने


Single Before Content Ad

सुन्दरहरैचा — विराटनगरका दुई प्रतिष्ठित स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल र नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने उद्देश्यले औपचारिक सहकार्य सम्झौता भएको छ। आइतबार न्यूरो अस्पतालमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै संस्थाले सहकार्य घोषणा गरेका हुन्।

विराटनगरलाई ‘स्वास्थ्य हब’ का रूपमा विकास गर्न र बिरामीलाई सहज, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न लक्षित उक्त सम्झौतामा क्यान्सरदेखि किड्नी प्रत्यारोपणसम्मका सेवा समन्वय गर्न सहमति गरिएको छ।

नोबेल मेडिकल कलेजका अध्यक्ष डा. सुनिल शर्माले निजी क्षेत्रले नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने महत्वपूर्ण भूमिका खेलेको बताउँदै सहकार्य नै उत्कृष्ट नतिजाको आधार हुने उल्लेख गरे। “प्रतिस्पर्धा मात्र होइन, सहकार्यबाट पनि सेवा गुणस्तरीय बन्न सक्छ,” उनले भने। 

क्यान्सर उपचारमा २५ प्रतिशतसम्म छुट

सम्झौता अनुसार न्यूरो अस्पतालमा उपचारका लागि आएका र क्यान्सरसम्बन्धी थप उपचार आवश्यक परेका बिरामीलाई नोबेल मेडिकल कलेजमा रिफर गरिनेछ।
न्यूरो अस्पतालको लेटर प्याडसहित सिफारिस लिएर जाने बिरामीले २५ प्रतिशतसम्म छुट पाउनेछन्।

किड्नी प्रत्यारोपणमा ५० प्रतिशतसम्म छुट

दुबै अस्पतालबीच भएको सम्झौतामा किड्नी ट्रान्सप्लान्ट सेवामा विशेष छुटको व्यवस्था गरिएको छ।
न्यूरो अस्पतालको सिफारिसमा काठमाडौं मेडिकल कलेज वा विराटनगरको नोबेल मेडिकल कलेजमा किड्नी ट्रान्सफर गराउने बिरामीलाई ५० प्रतिशतसम्म छुट दिने सहमति भएको छ।
सम्झौता अनुसार नोबेलले हरेक वर्ष १०–१५ जना बिरामीलाई यस्तो सुविधा उपलब्ध गराउनेछ।

सीप विकास तालिम र क्षमता अभिवृद्धि कार्यक्रम

दुवै अस्पतालका चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरी सीप विकास तालिम, कार्यशाला र निरन्तर मेडिकल शिक्षा कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ। यसले स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिसँगै सेवा गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

न्यूरो अस्पतालको रजत जयन्तीमा अर्थपूर्ण पहल

रजत जयन्ती वर्ष मनाइरहेको न्यूरो अस्पतालले बिरामीलाई अझ पहुँचयोग्य र गुणस्तरीय सेवा दिने उद्देश्यले यो सम्झौतालाई महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ। विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य उपचार जटिल प्रक्रिया हो। प्रतिस्पर्धाभन्दा सहकार्यले उत्कृष्ट नतिजा दिन सक्छ भन्ने विश्वासका साथ यो सम्झौता गरिएको हो।”

नोबेलको अत्याधुनिक क्यान्सर सेवा

७५० शैयाको नोबेल मेडिकल कलेजले हालै क्यान्सर उपचारमा ठूलो लगानीसहित अत्याधुनिक प्रविधि भित्र्याएको छ। अस्पतालमा १०० भन्दा बढी आईसीयू तथा सीसीयू शैयाको व्यवस्था छ। यसले कोशी तथा मधेश प्रदेशका बिरामीलाई अत्याधुनिक सेवा स्थानीयमै उपलब्ध हुने अपेक्षा गरिएको छ।

न्यूरो अस्पतालमा भारतीय बिरामीको संख्या उच्च हुने भएकाले उपचार प्रक्रियालाई अझ सहज बनाउन र विशेषज्ञ सेवा उपलब्ध गराउन यो सहकार्य टेवा पुग्ने दुवै अस्पतालको विश्वास छ।दुवै संस्थाले सहकार्य कार्यक्रमले समग्र स्वास्थ्य सेवा प्रणालीलाई मजबुत बनाउँदै बिरामीलाई राहत र विश्वास दिलाउनेमा आशावादी छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार