सुन्दरहरैंचामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एच.पि.भी. खोप अभियान सुरु


Single Before Content Ad
 

एलएन गच्छदार, सुन्दरहरैंचा ।

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर गराउने एच.पि.भी. (Human Papillomavirus) खोप अभियान २०८१ को औपचारिक शुभारम्भ सुन्दरहरैंचा नगरपालिकामा गरिएको छ। बुधबार सुन्दरहरैंचा-१० मा रहेको सुकुना माध्यमिक विद्यालयको परिसरमा भव्य समारोहको आयोजना गरी अभियान सुरु गरिएको हो।
समारोहमा नगर उपप्रमुख अकली चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित भइ खोपको महत्वबारे प्रकाश पार्दै भन्नुभयो, “किशोरीहरूलाई समयमै एच.पि.भी. खोप लगाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सकिन्छ। यो अभियान सुरक्षित भविष्य निर्माणतर्फको महत्वपूर्ण कदम हो।”

सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर बस्नेतले स्वास्थ्य सचेतनामा विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै विद्यालय परिवार खोप अभियानलाई पूर्ण साथ दिने प्रतिवद्धता जनाउनुभयो।

स्वास्थ्य शाखा प्रमुख ममता न्यौपानेले, “नगरपालिकामा लक्षित उमेर समूहका किशोरीहरूलाई खोप उपलब्ध गराउन व्यापक तयारी गरिएको छ। यो खोप किशोरीहरूको स्वास्थ्य सुरक्षाका लागि जीवनपर्यन्त प्रभावकारी छ,” भन्ने जानकारी दिनुभयो।यो अभियानको उद्देश्य किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरलगायत एच.पि.भी. संक्रमणबाट सुरक्षित राख्नु हो। कक्षा ६ देखि कक्षा १० सम्म का बालिकाहरूलाई लक्षित गर्दै खोप प्रदान गरिनेछ।

समारोहमा स्थानीय बासिन्दा, विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, र स्वास्थ्यकर्मीहरूको उत्साहजनक सहभागिता देखियो। अभिभावकहरूले यस्तो खोप अभियानले बालबालिकाको भविष्य सुरक्षित गर्न ठुलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। सुन्दरहरैंचामा सुरु गरिएको एच.पि.भी. खोप अभियानले नगरपालिकामा किशोरीहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। स्थानीय तहबाट खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरी यसले सम्पूर्ण नगरवासीलाई लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार