सुन्दरहरैचा / मङ्सिर ११ गते
प्याब्सन सुन्दरहरैँचा नगरपालिका स्तरीय लोक नृत्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सिनियरतर्फ जुपिटर स्कुल गछिया र जुनियरतर्फ हरैंचा मोडेल इङ्लिस स्कुल प्रथम भएका छन्।

प्रतियोगितामा जुनियर समूहतर्फ माउन्ट मकालु स्कूलले दोस्रो र क्वेष्ट इङ्ग्लिस सेकेन्डरी स्कूलले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो भने सोही समूहमा पूर्वाञ्चल एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेको थियो।

त्यसैगरी सिनियर समूह तर्फ सिद्धार्थ सेकेन्डरी स्कूलले दोस्रो, पूर्वाञ्चल एकेडेमीले तेस्रो तथा माउन्ट मकालु स्कूलले सान्त्वना स्थान हात पारेको थियो। बुधबार सलकपुर स्थित दुर्गादेवी स्पोर्स ग्राम कवर्ड हलमा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयले सांस्कृतिक प्रस्तुति दिएका थिए। प्रतियोगितामा नगरभित्रका २३ वटा निजी विद्यालयले सहभागिता जनाएका थिए।
प्रतियोगितामा उत्कृष्ठ हुने स्कूल तथा विध्यार्थीहरुलाई प्याब्सनका केन्द्रिय उपाध्यक्ष टीकाराम ढकाल, जिल्ला प्याब्सन सहसचिव दिपेन राई, प्याब्सन मोरङका सचिव देवी सिटौला, नगर प्याब्सन अध्यक्ष दिपक क्षेत्री, नगर प्याब्सनका उपाध्यक्ष टीका पराजुलीले प्रमाणपत्र, पदक र ट्रफि वितरण गरेका थिए।
प्रतियोगितामा कक्षा ८ सम्मका विद्यार्थीले जुनियर र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सिनियर समूहमा सहभागिता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै कला, भेषभूषा र संस्कृतिको जगेर्नामा यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। त्यसैगरी कार्यक्रम प्याब्सन सुन्दरहरैंचाका नगर अध्यक्ष दीपक केसीको अध्यक्षतामा सञ्चालन भएको थियो।
प्याबसन नगर अध्यक्ष क्षेत्रीले प्रतियोगिताले विद्यार्थीहरूमा संस्कृतिप्रतिको लगाव बढाउन मद्दत गरेको बताउँदै स्थानीय तहमा हुने यस्ता प्रतियोगिताले हाम्रो मौलिक कला–संस्कृतिको संरक्षण मात्र होइन, प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
कार्यक्रमका बोल्दै केन्द्रीय प्याब्सन उपाध्यक्ष टीकाराम ढकालले सुन्दरहरैंचा नगरका विद्यालयहरूले विगतदेखि नै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएको इतिहास रहेको र यस वर्ष पनि विद्यालय र विद्यार्थीहरूले देखाएको क्षमता प्रशंसनीय रहेको बताएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै प्याब्सन सुन्दरहरैंचा नगर उपाध्यक्ष टिका पराजुलीले विगतका वर्षहरूमा जिल्ला, कोशी प्रदेश र राष्ट्रिय स्तरसम्म लोक नृत्यमा सुन्दरहरैंचा क्षेत्रका विद्यालयहरूले उत्कृष्ट इतिहास कायम गर्दै आइरहेको उल्लेख गर्दै यस वर्ष पनि विद्यालयहरू उत्कृष्ट हुने विश्वास व्यक्त गरेका छन्।

