प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा सुकुना प्रथम, कबिर दोस्रो र हिमालय तेस्रो


shiva
Single Before Content Ad

सुन्दरहरैचा । जेष्ठ ३ गते

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ राष्ट्रिय तेक्वान्दो संघ नेपाल, नगर कार्यसमिति सुन्दरहरैंचाको आयोजनामा प्रथम जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार सुकुना माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ। 

प्रतियोगितामा सुकुना माध्यमिक विद्यालयले शानदार प्रदर्शन गर्दै ६ स्वर्ण, २ रजत र २ कांस्य पदकसहित प्रथम स्थान हासिल गर्‍यो। कबिर माध्यमिक विद्यालयले ४ स्वर्ण, ५ रजत र ९ कांस्य पदक प्राप्त गर्दै दोस्रो स्थान प्राप्त गर्‍यो भने हिमालय इंग्लिस स्कुलले ४ स्वर्ण, ३ रजत र ५ कांस्य पदकसहित तेस्रो स्थान हात पार्‍यो।

प्रतियोगिताको उद्घाटन सुन्दरहरैंचा नगर प्रमुख केदार प्रसाद गुरागाईंले गर्नुहुँदै आगामी आर्थिक वर्षमा तेक्वान्दो खेलको प्रवर्द्धनका लागि आवश्यक खेल सामग्री तथा म्याट प्रदान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, उहाँले खेलाडीहरूको सुरक्षाका लागि जोखिम कोष स्थापनाको सुझाव पनि दिनुभयो।

कार्यक्रम तेक्वान्दो संघ सुन्दरहरैंचाका अध्यक्ष अर्जुन भुजेलको अध्यक्षतामा सञ्चालन भएको थियो। कार्यक्रममा सामाजिक अभियन्ता नेत्र चौलागाईंले युवालाई सकारात्मक मार्गमा लाग्न प्रेरणा दिँदै भन्नुभयो, “अबको युवाको परिकल्पना चोकमा चन्दा उठाउने होइन, व्यवसायी भएर राज्यलाई सबैभन्दा बढी कर तिर्ने युवाको होस्।”

त्यस्तै, नेशनल प्याब्सन कोशी प्रदेशका सह-सचिव तथा हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनाल र अभियन्ता चौलागाईंले क्रमशः १/१ थान र २/२ थान चेष्ट गार्ड आयोजक समितिलाई हस्तान्तरण गर्नुभएको थियो।

प्रतियोगितामा मोरङ जिल्लाका १५ विद्यालयका करिब २५० जना खेलाडीहरू सहभागी थिए। कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङका अध्यक्ष इन्द्र बहादुर तामाङ, सुकुना माविका प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेत, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजक अध्यक्ष अर्जुन भुजेलका अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न भई सुन्दरहरैंचामा खेलकुदको स्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार