सुन्दरहरैचा/ असार ८ गते
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालअन्तर्गत रहेको नोबेल क्यान्सर अस्पतालले मोरङको ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक उच्च माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नोबेल क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिस्ट डा. सुमित सिंहले क्यान्सरका कारण, प्रारम्भिक लक्षण, जोखिम कारक, रोकथामका उपाय तथा समयमै परीक्षण र उपचारको महत्त्वबारे जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। उहाँले विशेषगरी सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ जीवनशैली तथा अन्य जोखिमयुक्त व्यवहारबाट टाढा रहन विद्यार्थीहरूलाई आग्रह गर्दै स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुभयो।
सचेतना कार्यक्रमका क्रममा डा. सिंहले क्यान्सरसम्बन्धी समाजमा रहेका भ्रम र गलत धारणाहरू हटाउन सही जानकारी आवश्यक रहेको बताउनुभयो। साथै, प्रारम्भिक अवस्थामै रोग पहिचान भएमा उपचारको सफलता दर उल्लेखनीय रूपमा बढ्ने जानकारी दिनुभयो।
उहाँले नोबेल क्यान्सर अस्पतालमा सर्जिकल अन्कोलोजी, मेडिकल अन्कोलोजी तथा रेडिएसन अन्कोलोजी सहितका सम्पूर्ण आधुनिक क्यान्सर उपचार सेवाहरू एकै स्थानमा उपलब्ध रहेको जानकारी दिनुभयो। साथै, अस्पतालमा नेपालमै पहिलो पटक जडान गरिएको अत्याधुनिक Varian EDGE Radiation Therapy Machine सञ्चालनमा रहेको उल्लेख गर्दै विश्वस्तरीय क्यान्सर उपचार सेवा नेपालमै उपलब्ध भएकाले उपचारका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः कम हुँदै गएको बताउनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले क्यान्सरसँग सम्बन्धित विभिन्न जिज्ञासाहरू राखेका थिए भने डा. सिंहले ती प्रश्नहरूको सरल र वैज्ञानिक ढंगले उत्तर दिनुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न तथा भविष्यमा स्वस्थ समाज निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। नोबेल क्यान्सर अस्पतालले क्यान्सर रोकथाम, प्रारम्भिक पहिचान तथा आधुनिक उपचार सेवाबारे जनचेतना फैलाउने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।




