सुन्दरहरैँचा नगरपालिकाको बजेट : १ अर्ब ४२ करोड १ लाख ७ हजार २८५ रुपैयाँ


shiva
Single Before Content Ad

असार ८ गते/

मोरङको सुन्दरहरैचा नगरपालिकाको नगरसभाको अठारौँ अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ। नगर प्रमुख केदारप्रसाद गुरागाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख अकली चौधरीले आगामी आर्थिक वर्षको बजेट सभासमक्ष पेश गर्नुभएको हो।

नगर प्रमुख गुरागाईंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको छ। नगरवासीको जीवनस्तर उकास्ने, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने उद्देश्यका साथ नीति तथा कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो।

त्यस्तै, उपप्रमुख चौधरीले प्रस्तुत गर्नुभएको बजेटअनुसार आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ४२ करोड १ लाख ७ हजार २८५ रुपैयाँ विनियोजन गरिएको छ। कुल बजेटमध्ये ९४ करोड २४ लाख ४२ हजार रुपैयाँ (६६.३६ प्रतिशत) चालु खर्च, ४५ करोड २६ लाख ६५ हजार २८५ रुपैयाँ (३१.८७ प्रतिशत) पुँजीगत खर्च तथा २ करोड ५० लाख रुपैयाँ (१.७७ प्रतिशत) वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी बजेट सामाजिक विकास क्षेत्र मा छुट्याइएको छ। नगर अस्पतालसहित सामाजिक विकासका कार्यक्रमका लागि ५३ करोड ४८ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी पूर्वाधार विकासतर्फ ३४ करोड ९८ लाख ६५ हजार २८५ रुपैयाँ बजेट छुट्याइएको छ, जसबाट सडक, पुल, भवन तथा अन्य भौतिक संरचनाको निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिइनेछ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि २९ करोड ५० लाख रुपैयाँ, आर्थिक विकासका कार्यक्रमका लागि ३ करोड १२ लाख ९० हजार रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि १ करोड ३० लाख रुपैयाँ, सुशासन तथा संस्थागत विकासका लागि ४ करोड २५ लाख रुपैयाँ तथा ऋण तथा सावाँ–ब्याज भुक्तानीलगायत वित्तीय व्यवस्थापन शीर्षकमा २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

नगरपालिकाले बहुवर्षीय तथा क्रमागत आयोजनाहरूको भुक्तानी तथा व्यवस्थापनका लागि १२ करोड ८६ लाख रुपैयाँ व्यवस्था गर्ने जनाएको छ। यससम्बन्धी केही विवरण असार २५ गतेपछि यकिन गरिने उल्लेख गरिएको छ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम तथा बजेटले पूर्वाधार विकास, सामाजिक सेवा विस्तार, रोजगारी सिर्जना, कृषि प्रवर्द्धन, वातावरण संरक्षण, डिजिटल सेवा विस्तार तथा सुशासनलाई केन्द्रमा राखेको छ। नगरपालिकाले आगामी आर्थिक वर्षमा विकास निर्माणका कामलाई थप प्रभावकारी बनाउँदै नागरिकको जीवनस्तर सुधारमा जोड दिने जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार