अब सुत्दैन सुन्दरहरैंचा, जुरुक्क उठ्छ सुन्दरहरैंचा’ नारासहित ‘रन सुन्दरहरैंचा–२०८३’ हुने १० हजारभन्दा बढी सहभागी हुँदै


shiva
Single Before Content Ad

सुन्दरहरैंचा (मोरङ), असार १२ —शिव भट्टराई भोजपुरे
‘अब सुत्दैन सुन्दरहरैंचा, जुरुक्क उठ्छ सुन्दरहरैंचा’ भन्ने मूल नारासहित सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था र आर्थिक समृद्धिका सम्भावनालाई केन्द्रमा राखेर असार १४ गते विशेष प्यानल डिस्कसन तथा असार १५ गते ‘रन सुन्दरहरैंचा–२०८३’ हुने भएको छ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा, सुन्दरहरैंचा नगरपालिकाको प्रवर्द्धन तथा विभिन्न सरकारी, निजी, शैक्षिक, वित्तीय र सामाजिक संस्थाहरूको सहकार्यमा सञ्चालन हुन लागेको उक्त कार्यक्रमबारे शुक्रबार विराटचोकस्थित सार्वजनिक पुस्तकालयमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले कार्यक्रमको उद्देश्य सुन्दरहरैंचाको सम्भावना राष्ट्रियस्तरमा चिनाउनु, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनु तथा नगरको विकास र समृद्धिका विषयमा साझा बहस सिर्जना गर्नु रहेको बताउनुभयो।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले ‘रन सुन्दरहरैंचा–२०८३’ केवल खेलकुद कार्यक्रम नभई नगरको आर्थिक, सामाजिक र सांस्कृतिक जागरणको अभियान भएको उल्लेख गर्नुभयो। उहाँले नगरको समृद्धिका लागि साझा दृष्टिकोण निर्माण गर्दै स्थानीय उत्पादन, व्यवसाय र लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

आयोजकका अनुसार ‘अब सुत्दैन सुन्दरहरैंचा, जुरुक्क उठ्छ सुन्दरहरैंचा’ भन्ने नाराको अर्थ केवल दौडिनु मात्र होइन। यसको मर्म स्थानीय बजारलाई साथ दिनु, आफ्नै उत्पादनलाई प्राथमिकता दिनु, आफ्नै व्यवसायमा विश्वास गर्नु र आफ्नै नगरको विकासमा सबै नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्नु हो।

आयोजकले अब बजार सुनसान नहुने, स्थानीय व्यवसाय निराश भएर नबस्ने तथा विकासको जिम्मेवारी अरूले लिन्छन् भन्ने प्रतीक्षा अन्त्य हुने विश्वास व्यक्त गरेको छ।

‘जुरुक्क उठ्छ सुन्दरहरैंचा’ भन्नुको अर्थ आर्थिक गतिविधि मात्र बढ्नु नभई स्थानीय उत्पादनप्रतिको सम्मान, आत्मविश्वास, सहकार्यको संस्कृति, सामाजिक सद्भाव, लगानीमैत्री वातावरण र सामूहिक उत्तरदायित्वको भावना बलियो बनाउनु पनि रहेको आयोजकको भनाइ छ।

यस अभियानको अर्को विशेष पक्ष व्यापक साझेदारी रहेको छ। सुन्दरहरैंचामा रहेका उद्योग, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, सहकारी, शैक्षिक संस्था, सामाजिक संघसंस्था तथा विभिन्न कम्पनीहरूले आफ्नो संस्थाको लोगो सहित ‘रन सुन्दरहरैंचा–२०८३’ अंकित टी–सर्ट निर्माण गरी हजारौं सहभागीलाई वितरण गरेका छन्। आयोजकका अनुसार एउटै टी–सर्टमा विभिन्न संस्थाका लोगो समेटिनु प्रतिस्पर्धाभन्दा माथि उठेर सहकार्य गर्ने संस्कृतिको प्रतीक बनेको छ।

कार्यक्रममा करिब १० हजारभन्दा बढी नागरिकको सहभागिता रहने अनुमान गरिएको छ। विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्म, उद्योगी–व्यवसायीदेखि किसानसम्म, कर्मचारीदेखि उद्यमीसम्म तथा महिला समूहदेखि युवा क्लबसम्मका विभिन्न समुदाय र पेशाका नागरिक एउटै अभियानमा सहभागी हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा पत्रकार टिकाराम यात्री, पत्रकार दिलभूषण पाठक, पूर्व अर्थसचिव रामेश्वर खनाल, नायिका रेखा थापा, उद्योगी सुरेश प्याकुरेल, उद्योगी अरुण सुवेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं तथा पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल वक्ताका रूपमा सहभागी हुनेछन्।

कार्यक्रममा सुन्दरहरैंचाको विकास यात्रा, आर्थिक सम्भावना, पर्यटन प्रवर्द्धन, लगानीमैत्री वातावरण, उद्यमशीलता तथा समृद्ध नगर निर्माणका विषयमा अन्तरक्रियात्मक छलफल हुने सुन्दरहरैचा उद्योग वाणिज्य संघका कार्यलय प्रमुख खेम चन्द्र वस्तीले जनाएका छन्। साथै, नगरको दीर्घकालीन विकासका लागि साझा दृष्टिकोण निर्माणमा यस कार्यक्रमले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

आयोजकले ‘रन सुन्दरहरैंचा–२०८३’ लाई ऐतिहासिक बनाउन सञ्चारकर्मी, उद्योगी–व्यवसायी, बुद्धिजीवी, युवा तथा सम्पूर्ण नगरवासीलाई उत्साहपूर्ण सहभागिताका लागि आग्रह गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार