यात्रु सुरक्षामा नयाँ पहल : सिटी सफारी चालकलाई परिचय नम्बर सहितको ज्याकेट


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ असार १० गते 

सार्वजनिक यातायात सेवालाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यसहित मोरङको सुन्दरहरैंचा–४ स्थित सुन्दरदुलारी सिटी सफारी संघले ८६ जना सिटी सफारी चालकलाई नम्बर अंकित सुरक्षित ज्याकेट वितरण गरेको छ।

संघको आयोजनामा र गछिया ट्राफिक प्रहरी पोष्टको समन्वयमा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष नारायण सुबेदीको अध्यक्षतामा ज्याकेट हस्तान्तरण गरिएको हो।

पहिलो चरण अन्तर्गत वैधानिक रूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त ८६ जना चालकलाई छुट्टाछुट्टै परिचय नम्बर उल्लेख गरिएको ज्याकेट प्रदान गरिएको संघले जनाएको छ। चालकको स्पष्ट पहिचान खुल्ने व्यवस्थाले यात्रुको सुरक्षा, सेवा प्रवाहको पारदर्शिता तथा सवारी व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रमुख सन्तोष न्यौपानेले सडक सुरक्षामा चालक र यात्रु दुवैको समान जिम्मेवारी रहेको उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालनामा जोड दिए। उनले चालकको पहिचान खुल्ने नम्बरसहितको ज्याकेटले दुर्घटना न्यूनीकरण, सेवा अनुशासन कायम तथा यात्रुको विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए।

“यात्रुले प्रयोग गर्ने सार्वजनिक सवारीका चालक स्पष्ट रूपमा चिनिनु आवश्यक छ,” न्यौपानेले भने, “यसले कुनै समस्या वा गुनासो आएमा सम्बन्धित चालक पहिचान गर्न सहज बनाउँछ र सेवाप्रतिको भरोसा पनि बढाउँछ।”

संघका अध्यक्ष नारायण सुबेदीले सिटी सफारी सेवालाई थप व्यवस्थित र जिम्मेवार बनाउने अभियानअन्तर्गत ज्याकेट वितरण गरिएको जानकारी दिए। उनले प्रत्येक चालकलाई छुट्टै नम्बर प्रदान गरिएको उल्लेख गर्दै यात्रुहरूलाई आधिकारिक नम्बरयुक्त ज्याकेट लगाएका चालकद्वारा सञ्चालित सिटी सफारीमै यात्रा गर्न आग्रह गरे।

उनका अनुसार यो व्यवस्थाले अवैध तथा पहिचानविहीन चालकलाई निरुत्साहित गर्नुका साथै यात्रु र चालकबीचको विश्वाससमेत मजबुत बनाउनेछ। कुनै समस्या वा गुनासो परेमा सम्बन्धित चालकलाई सहज रूपमा पहिचान गर्न सकिने भएकाले सेवा थप उत्तरदायी बन्ने अपेक्षा गरिएको छ।

संघले आगामी दिनमा चालकहरूको क्षमता अभिवृद्धि, ट्राफिक सचेतना तथा सुरक्षित सार्वजनिक यातायात प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय तह, ट्राफिक प्रहरी र व्यवसायीबीचको सहकार्यबाट सुन्दरहरैंचामा सुरक्षित, भरपर्दो र व्यवस्थित सार्वजनिक यातायात सेवा विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार