शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को प्रारम्भिक परीक्षाफलमा यस वर्ष पनि उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै आफ्नो उत्कृष्टता कायम गरेको छ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सार्वजनिक भएको नतिजा अनुसार विद्यालयका कुल ८०१ विद्यार्थीमध्ये ७०० जना ग्रेडेड भएका छन् भने १०१ जनाको नतिजा एनजी (NG) आएको छ। विद्यालयको समग्र ग्रेडेड प्रतिशत ८७.४ रहेको छ। हाल विद्यालयमा ५ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
नतिजाअनुसार ३.६ देखि ४.० GPA ल्याउने ८९ जना विद्यार्थी रहेका छन्। त्यस्तै ३.२ देखि ३.६ GPA ल्याउने ३०७ जना, २.८ देखि ३.२ GPA ल्याउने २५० जना तथा २.४ देखि २.८ GPA ल्याउने ५४ जना विद्यार्थी रहेका छन्।
यस वर्ष ल समूह (Law Group) की अनिशा भुर्तेलले ३.९४ GPA हासिल गर्दै विद्यालयको सर्वाधिक GPA प्राप्त गरेकी छन्।
विद्यालयका प्रधानाध्यापक हिक्मत बस्नेतले उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि शुभकामना व्यक्त गरेका छन्।




