सुन्दरहरैंचा (मोरङ) — शिव भट्टराई भोजपुरे असार १३ गते
मोरङको सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा सुन्दरहरैंचा–८ स्थित क्वेस्ट माध्यमिक विद्यालयमा "छात्रासँग उप-प्रमुख" कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा नगर उपप्रमुख अकली चौधरीले विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै शिक्षा, अनुशासन, नेतृत्व विकास, स्थानीय सरकारको भूमिका तथा विद्यार्थीहरूको दायित्वबारे प्रेरणादायी विचार राख्नुभयो। उहाँले विद्यार्थीहरूलाई सकारात्मक सोच, मेहनत र अनुशासनका साथ अध्ययन गर्दै भविष्यका जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले आफ्ना जिज्ञासा, सुझाव तथा विचार खुला रूपमा प्रस्तुत गरेका थिए। उपप्रमुख चौधरीले विद्यार्थीहरूले उठाएका प्रश्नहरूको सहज र स्पष्ट जवाफ दिँदै स्थानीय सरकारले शिक्षा क्षेत्रमा गरिरहेका प्रयास तथा आगामी योजनाबारे जानकारी गराउनुभयो।
विद्यालयका प्रिन्सिपल दीपक क्षेत्रीले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय सरकार र विद्यालयबीचको सहकार्यले विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग जोड्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यार्थीहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय सरकार र विद्यार्थीबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै विद्यार्थीहरूलाई आफ्ना विचार निर्धक्क रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ।




