सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ३ को आर्थिक सहयोग तथा मनकामना स्किल डेभलपमेन्ट एन्ड ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित १५ दिने महिला जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न भएको छ।

महिलालाई सीपयुक्त, आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिमको समापन कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष बिदुर ढुङ्गानाको प्रमुख आतिथ्य रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष ढुङ्गानाले सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले "सीप नै आजको सबैभन्दा ठूलो सम्पत्ति रहेको बताउँदै तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारेर स्वरोजगार सिर्जना गर्न सकियो भने यसले परिवारको आर्थिक अवस्था सुधार्नुका साथै समाजमा पनि सकारात्मक परिवर्तन ल्याउने बताउनु भयो।
उहाँले वडा कार्यालयले आगामी दिनमा पनि महिलालाई लक्षित गरी यस्ता सीपमूलक तथा आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै तालिममा सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
तालिममा सहभागी महिलाहरूले जुत्ता–चप्पल निर्माणसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप हासिल गरेका छन्। उनीहरूले विभिन्न प्रकारका जुत्ता–चप्पल निर्माण, सामग्रीको प्रयोग तथा गुणस्तरीय उत्पादनका विधिबारे अभ्यास गरेका थिए।
संस्थाकी प्रबन्धक कमला न्यौपाने दाहालले यस्ता तालिमले महिलालाई घरमै बसेर आयआर्जन गर्ने, सानो उद्यम सञ्चालन गर्ने तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरणा मिल्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि समुदायको आवश्यकता अनुसार यस्ता सीपमूलक तालिम सञ्चालन गरिने जानकारी दिनुभयो।
तालिममा सहभागी महिलाहरुले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गरी स्वरोजगार सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन्।




