शिव भट्टराई भोजपुरे/ जेष्ठ २८ गते
मोरङको सुन्दरहरैँचा–१० स्थित सिदार्थ सेकेन्डरी इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरू विश्वकप फुटबल २०२६ को माहोलमा रमाएका छन्। विद्यालयले आयोजना गरेको विशेष कार्यक्रममा विद्यार्थीहरू आफ्ना मनपर्ने देश तथा टिमको जर्सी लगाएर सहभागी बनेका थिए।

कार्यक्रममा अर्जेन्टिना, ब्राजिल, फ्रान्स, इङ्ग्ल्यान्ड, पोर्चुगल, जर्मनी लगायत विभिन्न राष्ट्रका जर्सीमा सजिएका विद्यार्थीहरूले विश्व फुटबलप्रतिको आफ्नो उत्साह र समर्थन प्रदर्शन गरेका थिए। विद्यालय परिसर रंगीन जर्सीहरूले भरिएको थियो भने विद्यार्थीहरूबीच फुटबलप्रतिको जोश र उत्साह स्पष्ट देखिन्थ्यो।

विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले सुन्दरहरैचा अपडेटलाई जानकारी दिदै यस्ता गतिविधिले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै विभिन्न देशको संस्कृति, खेल भावना र विश्वव्यापी एकताको सन्देशसमेत प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्।
"Colors on, spirits high, and hearts full of passion" भन्ने नारासहित आयोजित कार्यक्रममा विद्यार्थीहरूले विश्वकप फुटबलको रोमाञ्चक माहोललाई विद्यालयमै अनुभूति गरेका थिए। उनीहरूले आफ्ना मनपर्ने टिमको समर्थन गर्दै खेलकुदले मानिसहरूलाई एकताबद्ध बनाउने सन्देश पनि दिएका थिए।
विद्यालयले यस्ता सिर्जनात्मक तथा सह-पाठ्यक्रम गतिविधिमार्फत विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सामाजिक सहभागिता अभिवृद्धि गर्दै आएको जनाएको छ। विश्वकप २०२६ को उत्साहसँगै आयोजित यो कार्यक्रम विद्यार्थीहरूका लागि स्मरणीय बनेको विद्यालयले जनाएको छ।

