सुन्दरहरैचा/ जेष्ठ २८ गते
विराटनगर स्थित नोबेल अस्पतालले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चायाँ–पोतो लगायत कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी समस्याहरूको उपचारका लागि विशेष सेवा सञ्चालन गरिरहेको छ । यहाँ छालामा देखिने सबै प्रकारका रोगहरूको उपचार अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकमार्फत गरिन्छ । टाटु हटाउनेदेखि अनावश्यक स्थानमा आएका रौं हटाउने तथा आवश्यक स्थानमा रौं उमार्नेसम्मका सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ।

अस्पतालका छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा. मनीष प्रधानका अनुसार छाला उपचारलाई मुख्य रूपमा दुई भागमा विभाजन गरिएको छ । एउटा कन्भेन्सनल र अर्को कस्मेटिक डर्माटोलोजी । नोबेल अस्पतालमा यी दुवै प्रकारका सेवा उपलब्ध छन् । कन्भेन्सनल डर्माटोलोजी रोगको पहिचान तथा उपचारमा केन्द्रित क्षेत्र हो । यसअन्तर्गत एलर्जी, छालामा आउने ¥यास, डण्डिफोर, लुतो, पिलो तथा घाउ, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, छालाको संक्रमण तथा नङसम्बन्धी रोगहरूको उपचार गरिन्छ ।
त्यसैगरी कस्मेटिक डर्माटोलोजी छालाको सौन्दर्य अभिवृद्धि तथा आकर्षण बढाउने उपचारसँग सम्बन्धित छ । यसअन्तर्गत लेजर, बोटोक्स, फिलर तथा छालाको सौन्दर्य बढाउने विभिन्न उपचार पर्छन् । डा. प्रधानका अनुसार सौन्दर्यप्रति चासो बढ्दै जाँदा यस्ता सेवा लिन आउनेहरूको संख्या पनि उल्लेखनीय रूपमा बढिरहेको छ । यहाँ आउने धेरैजसो व्यक्तिहरू रोगको उपचारभन्दा पनि छालाको सौन्दर्य सुधारका लागि सेवा लिन आउने गर्दछन् । विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौंको समस्या लिएर आउने गरेका छन् । कतिपय अवस्थामा यस्तो समस्या कुनै रोगका कारण पनि हुनसक्छ । यहाँ ती रोगको पहिचान गरेर उपचार गरिन्छ ।
नोबेल अस्पतालमा छाला रोगको उपचार सेवा सुरु भएको करिब दुई दशक भइसकेको छ । उपचारपछि धेरैजना सन्तुष्ट हुने र अरूलाई पनि सिफारिस गरेर ल्याउने गरेको अनुभव डा. प्रधानको छ । धेरैजसो उपचार एकपटक मात्र गरेर पुग्दैन, आवश्यकता अनुसार पटक–पटक गर्नुपर्ने हुन्छ । यहाँ आधुनिक उपकरणमार्फत छालाको क्यान्सर तथा कुष्ठरोगको पहिचानका लागि बायोप्सीसमेत गरिन्छ । साथै अत्याधुनिक प्रविधिमार्फत कार्बन पिलिङ र हाइड्राफेसियलद्वारा छालाको सौन्दर्य अभिवृद्धि गर्ने सेवा पनि उपलब्ध छ । टाटु हटाउन पिको लेजर प्रविधि प्रयोग गरिन्छ । त्यसैगरी कोठी, पोतो तथा मुसाको प्रकृतिअनुसार पिको लेजर, कार्बन डाइअक्साइड लेजर वा आवश्यक परे शल्यक्रियामार्फत पनि उपचार गरिन्छ ।
डण्डिफोरका कारण बिग्रिएको अनुहारको उपचारमा माइक्रो लेजर प्रविधि प्रयोग गरिन्छ । कपालसम्बन्धी विभिन्न समस्याको उपचारका लागि पनि यहाँ विशेष सेवा उपलब्ध छ । सेवाग्राहीहरू कपाल झर्ने वा कपाल नउम्रिने समस्या लिएर उपचारका लागि आउने गर्छन् । लेजर उपचारबाट अनावश्यक रौंको वृद्धि उल्लेखनीय रूपमा घटाउन सकिने डा. प्रधान बताउँछन् ।साथै बिरामीकै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने उपचार पनि गरिन्छ । दुबी (सेतो दाग) को उपचारका लागि औषधि तथा फोटोथेरापी विधि प्रयोग गरिन्छ।
नोबेल अस्पतालले छाला रोगको उपचारसँगै सौन्दर्य अभिवृद्धि र आत्मविश्वास बढाउन आधुनिक प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्दै आएको डा. प्रधानको भनाइ छ ।

