मोरङ, सुन्दरहरैँचा ।शिव भट्टराई भोजपुरे
मोरङको सुन्दरहरैँचा–१० विराटचोकस्थित सुकुना माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन विरुद्ध युवा जागरण कार्यक्रम सुरु भएको छ। सुन्दरहरैँचा नगरपालिकाको सहयोग तथा जनचर्चा टाइम्स मिडिया एण्ड एड्भर्टाइजिङ प्रा.लि.को आयोजनामा सुरु भएको कार्यक्रमको उद्घाटन गर्दै नगर उपप्रमुख अकली चौधरीले लागुऔषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको बताउनु भएको छ।

उपप्रमुख चौधरीले युवाशक्ति राष्ट्रको भविष्य भएकाले उनीहरूलाई कुलत र दुर्व्यसनबाट जोगाउन विद्यालय तहदेखि नै सचेतना आवश्यक रहेको उल्लेख गर्नु भएको छ। उनले भनिन्, “लागुऔषध दुर्व्यसनले व्यक्तिको मात्र होइन, परिवार र समाजकै भविष्य बिगार्ने भएकाले यसको नियन्त्रणमा सबै पक्ष एकजुट हुनुपर्छ। युवा पुस्तालाई सही मार्गमा अघि बढाउन यस्ता कार्यक्रम प्रभावकारी हुनेछन्।”

कार्यक्रममा प्रहरी नायब निरीक्षक भक्तबहादुर तुम्रोक लिम्बुले सहजीकरण गर्दै लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले लागुऔषधको लतले व्यक्तिको जीवन, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले यसको रोकथामका लागि सचेतना नै सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो।

सामाजिक शाखा प्रमुख गुणनिधि दाहालले नगरपालिकाले युवाहरूलाई लक्षित गरी विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै लागुऔषधमुक्त समाज निर्माणमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले विद्यार्थीहरूलाई सही मार्गदर्शन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
कार्यक्रममा नगर कार्यपालिका सदस्य रुकमणि घिमिरे, बबिता खापुङ, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमले लागुऔषध दुर्व्यसनका जोखिम, असर तथा त्यसबाट बच्ने उपायबारे महत्वपूर्ण जानकारी प्रदान गरेको बताएका थिए।
आयोजकका अनुसार सुकुना माध्यमिक विद्यालयबाट सुरु भएको यो अभियान सुन्दरहरैँचा नगरपालिकाका सबै वडामा चरणबद्ध रूपमा सञ्चालन गरिनेछ। कार्यक्रम मार्फत युवाहरूमा सचेतना अभिवृद्धि गर्दै लागुऔषधमुक्त समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।

