उपमेयर ट्राफिक सचेतना कार्यक्रम सुरु, विद्यार्थीसहित नगरवासी सडक सुरक्षाको अभियानमा


Single Before Content Ad

सुन्दरहरैँचा, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा "सचेत नागरिकको पहिचान, सुरक्षित सडक हाम्रो अभियान" भन्ने मूल नारासहित उपमेयर ट्राफिक सचेतना कार्यक्रम बुधबारदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत सचेतनामूलक र्‍याली तथा विभिन्न जनचेतनामूलक गतिविधिहरू आयोजना गरिएको नगरपालिकाले जनाएको छ। 

कार्यक्रमको पहिलो दिन विभिन्न विद्यालयका विद्यार्थीहरूले नगर परिक्रमा गर्दै ट्राफिक नियम पालनाको सन्देश दिएका थिए। र्‍यालीमा सहभागी विद्यार्थीहरूले "ट्राफिक नियमको पालना गरौं, सुरक्षित सुन्दरहरैँचा बनाऔं", "हेलमेट लगाऔं, जीवन बचाऔं", "सवारी चलाउँदा मोबाइल नचलाऔं", "सिटबेल्ट लगाऔं, सुरक्षित बनौं", "मादक पदार्थ सेवन गरी सवारी नचलाऔं", "पैदलयात्रीलाई प्राथमिकता दिऔं, सुरक्षित यात्रा सुखी परिवार" तथा "५० किलोमिटर प्रतिघण्टा तीव्र गति होइन, सुरक्षित गति अपनाऔं" लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेर नगरवासीलाई सचेत बनाएका थिए।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, इलाका ट्राफिक प्रहरी कार्यालय बेलबारी, सुन्दरहरैँचा नगरपालिका, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूको समन्वय र सहभागिता रहेको छ।

सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमप्रति नागरिकको जिम्मेवारी अभिवृद्धि तथा सुरक्षित यातायात संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उपप्रमुख अकलि चौधरीले बताउनु भएको छ।

नगरपालिकाले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै "नियम मानौँ, दुर्घटना घटाऔं" भन्ने सन्देशलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार