सुन्दरहरैचा/
सुनसरीको इटहरी—१६ स्थित एस ओएस हर्मन माइनर माध्यमिक विद्यालयले सोमबार २८ औँ अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्राम इटहरीका निर्देशक देवचरण चौधरीको सभाध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख श्री सङ्गीता चौधरी प्रमुख आतिथ्यता रहेको थियो।
उक्त कार्यक्रममा शिक्षा तथा खेलकुद समन्वय इकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदी, इटहरी उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष श्री तेजनारायण चौधरी, इटहरी रेडक्रस सोसाइटीका सचिव सञ्जीव ढुङ्गाना, लक्ष्मी मा.वि. का प्रधानाध्यापक प्रभुनारायण चौधरी, बालविकास मा.वि. का प्रधानाध्यापक नारायण सन्जेल, सरस्वती जब्दी मा.वि. का प्रधानाध्यापक मातृकाप्रसाद भट्टराई, किसान कल्याण ऋण तथा बचत सहकारी संस्थाका उपाध्यक्ष, नरेन्द्र श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस हर्मन माइनर मावि एकाइका अध्यक्ष प्रकाश तिम्सिना, एसओएस बालग्राम इटहरीकी आमा प्रतिनिधि सुशीला पौडेल, सञ्चारका विविध क्षेत्रसँग सम्बन्धित सञ्चारकर्मीहरू, अभिभावकज्यूहरू, शिक्षक, कर्मचारी एवम् विद्यार्थीहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।
राष्ट्रिय गान र एसओएस प्रार्थनाबाट सुरु भएको उक्त कार्यक्रममा विद्यालयका शिक्षक श्री प्रकाश तिम्सिनाले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन तथा एसओएसका संस्थापक हर्मन माइनरको तस्विरमा माल्यार्पण गरेर विधिवत् समुद्घाटन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो । यसै क्रममा विद्यालयका निमित्त प्रधानाध्यापक शशिकुमार उपाध्यायले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विद्यालयलाई विविध कोणबाट सहयोग गर्नुहुने महानुभावहरूलाई धन्यवाद व्यक्त गर्दै विद्यालयको आगामी योजनाबारे प्रकाश पार्नुभयो ।आफ्नो मन्तव्यका क्रममा प्रमुख अतिथि सङ्गीता चौधरीले मोबाइलको अत्यधिक प्रयोगले गर्दा आजभोलि अधिकांश बालबालिकाहरूमा नकारात्मक असर देखापरेको र उनीहरूको स्वास्थ्यमा विविध समस्या देखा पर्न थालेकोबारे चिन्ता व्यक्त गर्नुभयो । विशेष अतिथिको तर्फबाट मन्तव्य राख्ने क्रममा श्री खगेन्द्र सुवेदीले विशेष वर्गका बालबालिकालाई सेवा पुर्याउँदै आएको यस विद्यालयलाई शिक्षा तथा खेलकुद समन्वय इकाइ सुनसरीले हरतरहले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा अतिथिका तर्फबाट तेजनारायण चौधरी, प्रभुनारायण चौधरी, मातृकाप्रसाद भट्टराई, नारायण सन्जेलले मन्तव्य राख्नुभएको थियो । अभिभावक वर्गको प्रतिनिधिका रूपमा चन्द्रकला भट्टराईले विद्यालयले विद्यार्थीहरूको हितमा लिएका हरेक कदममा अभिभावक वर्गको साथ रहने विचार व्यक्त गर्नुभयो ।शिक्षक पनिता तामाङको कुशल उद्घोषणमा सञ्चालित उक्त समारोहमा विभिन्न कक्षामा अध्ययनरत छात्रछात्राहरूद्वारा सामूहिक गीत, नृत्य, राइम्स, तेक्वान्डो खेलका केही काँताहरूको सुन्दर प्रस्तुति गरिएको थियो ।