शिव भट्टराई भोजपुरे/मोरङको सुन्दरहरैचा–१० स्थित जेष्ठ नागरिक समाजको सभाहलमा उद्घोषण, निर्णय पुस्तिका अभिलेखीकरण, लेखा व्यवस्थापन तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न भएको छ। इन्द्रपुर समस्त भजन संजालको आयोजनामा तथा स्वतन्त्र नागरिक समाज मोरङको प्रायोजनमा उक्त तालिम आज सोमबार सम्पन्न भएको हो। 
उक्त तालिम समापन कार्यक्रममा जेष्ठ नागरिक समाज सुन्दरहरैचाका अध्यक्ष रामकुमार कार्कीको प्रमुख आतिथ्य रहेको थियो भने प्रशिक्षक परमात्मा ओझाले उद्घोषण कला, संस्थागत अभिलेखीकरण, निर्णय पुस्तिका व्यवस्थापन तथा आर्थिक पारदर्शितासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले सामाजिक तथा धार्मिक संस्थाहरूको प्रभावकारी सञ्चालनका लागि व्यवस्थित अभिलेखीकरण, पारदर्शी लेखा प्रणाली र दक्ष नेतृत्व अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्ता तालिमले संस्थाका पदाधिकारी तथा सदस्यहरूको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।
त्यसैगरी स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र चौलागाईंले संस्थागत सुशासन, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धनका लागि क्षमता विकास कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन नागरिक तथा सामाजिक संस्थाहरू सक्षम र जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्दै यस्ता तालिममार्फत संस्थाहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
इन्द्रपुर समस्त भजन संजाल सुन्दरहरैचाकी अध्यक्ष गीता गौतम लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले तालिमबाट संस्थागत व्यवस्थापन, अभिलेखीकरण, उद्घोषण कला तथा लेखा प्रणालीबारे व्यावहारिक ज्ञान हासिल गरेको बताएका थिए।
कार्यक्रममा तालिममा सहभागी व्यक्तित्वहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो। सामाजिक तथा धार्मिक संघ–संस्थाका पदाधिकारीहरूको कार्यक्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।

