शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैचा नगरपालिका वडा नंं ८ स्थित शिक्षा निकेतन माध्यमिक विद्यालयको ३९औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ । बुधबार भएको वार्षिक उत्सव कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंको प्रमुख आतिथ्य रहेको थियो। त्यसैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर सुवेदीको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रमकाे सुरुवातमा विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद सुवेदीले स्वागत मन्तव्य राखेका थिए। उत्सवमा वार्षिक उत्सव उपसमिति सह–संयोजक सन्तोष खड्का, साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्ले, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामकुमार आचार्य, वडा नं. ८ का वडा अध्यक्ष खेमप्रसाद न्यौपानेलगायत अतिथि वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए।

विद्यालयले सानो छाप्रोबाट सुरु गरिएको कठिन यात्रालाई आजको सफल अवस्थामा पुर्याउन सकेकोमा खुसी व्यक्त गर्दै निरन्तर मेहनत, समर्पण र सामुदायिक सहयोगकै कारण शिक्षा निकेतनले आजको प्रतिष्ठा कमाएको बताएका छन्। त्यसैगरी उनले ३९औँ वार्षिक उत्सवले विद्यालयलाई अझ अघि बढ्ने ऊर्जा प्रदान गर्नेछ भन्ने विश्वासका साथ हार्दिक शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रमका क्रममा विभिन्न अक्षयकोष दाताबाट प्राप्त ब्याज रकममार्फत गरिब, अनुशासित र मेधावी विद्यार्थीलाई अक्षयकोष वितरण गरिएको थियो। साथै, ५३ जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो। वार्षिक उत्सवको अवसरमा विद्यालयले शिलालेख अनावरण, सेवा निवृत्त पूर्व शिक्षक, विभिन्न क्षेत्रबाट विद्यालयलाई योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेको थियो।
शैक्षिक क्षेत्रमा सफलता हासिल गर्दै आइरहेको यस विद्यालयमा १,२०० विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयमा विद्यार्थीहरूले प्रस्तुत गरेका सांगीतिक, नृत्य तथा सांस्कृतिक कार्यक्रमले वातावरण झनै उत्सवमय बनेको थियो।

