सुन्दरहरैँचा (मोरङ) : विश्व वातावरण दिवसको अवसरमा मोरङको सुन्दरहरैँचा–८ स्थित क्वेष्ट इङ्लिस स्कुलका विद्यार्थीहरुले सरसफाई तथा शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो। विद्यार्थीहरुले विद्यालय परिसरमा वातावरण दिवस विशेष कार्यक्रम तथा स्थानिय धार्मिक तथा पर्यटकिय क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोप्दै सरसफाई कार्यक्रम सम्पन्न गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूलाई वृक्षारोपणको महत्व, जलवायु परिवर्तनका असर तथा हरियाली वातावरणले मानव जीवनमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराइएको थियो। साथै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाह गर्ने प्रतिबद्धता पनि जनाइएको विद्यालयले जनाएको छ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवार बन्ने भावना विकास गर्नुका साथै हरित र स्वच्छ समाज निर्माणमा योगदान पुग्ने विश्वास गरिएको छ।

