कोशी प्रदेशकै पहिलो बर्न युनिट नोबेल शिक्षण अस्पतालमा सञ्चालन


Single Before Content Ad

सुन्दरहरैचा । साउन ८ गते

नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा कोशी प्रदेशकै पहिलो बर्न युनिट (जलन उपचार कक्ष) सञ्चालनमा आएको छ। बिहीबार आयोजित एक कार्यक्रमबीच कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले बर्न युनिटको औपचारिक उद्घाटन गर्नुभएको हो।

उद्घाटन गर्दै मन्त्री लिम्बुले जलनका बिरामीलाई गुणस्तरीय, सहज र विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने दिशामा बर्न युनिटको सञ्चालन महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि कीर्तिपुर बर्न सेन्टरका वरिष्ठ प्लास्टिक सर्जन प्रोफेसर डा. शङ्करमान राईले काठमाडौं बाहिर बर्न युनिट स्थापना हुनु खुसीको विषय भएको बताउनुभयो। उहाँले जलनका बिरामीलाई तत्काल काठमाडौं वा भारत लैजान सम्भव नहुने भएकाले विराटनगरमै विशेषज्ञ उपचार सेवा आवश्यक रहेको उल्लेख गर्नुभयो। जटिल अवस्थाका बिरामीको उपचार गर्ने विशेषज्ञको अभावमा विगतमा भारतसम्म लैजानुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका कार्यकारी प्रमुख रामहरि घिमिरेले अस्पतालले यसअघि पनि हजारौं जलनका बिरामीको उपचार गर्दै आएको र अब छुट्टै बर्न युनिट सञ्चालनमा आएपछि उपचार सेवा अझ प्रभावकारी हुने बताउनुभयो।

त्यस्तै, नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका प्रिन्सिपल डा. राजेश नेपालले देशका सातै प्रदेशमा बर्न युनिट स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै राज्यले गर्नुपर्ने काममा निजी क्षेत्रले समेत चासो देखाउनु सकारात्मक भएको उल्लेख गर्नुभयो।

अस्पतालका प्लास्टिक सर्जन तथा लेक्चरर डा. अजय ढकालका अनुसार हाल ३ शय्याबाट बर्न युनिट सञ्चालनमा ल्याइएको छ। आगामी दिनमा सेवा र क्षमता थप विस्तार गर्दै लैजाने उहाँले जानकारी दिनुभयो।

उद्घाटन कार्यक्रममा नेपालमा जलनका बिरामीको उपचारमा देखिएका समस्या, समाधानका उपाय, बर्न युनिटको आवश्यकता, नोबेल शिक्षण अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा तथा आगामी योजनाबारे समेत छलफल गरिएको थियो।

बर्न युनिट सञ्चालनमा आएसँगै कोशी प्रदेशका जलनका बिरामीले अब आफ्नै प्रदेशमा विशेषज्ञ चिकित्सकको निगरानीमा आधुनिक उपचार सेवा प्राप्त गर्ने भएका छन्। यसअघि जटिल जलनका बिरामीलाई उपचारका लागि काठमाडौंलगायत अन्य स्थानमा लैजानुपर्ने बाध्यता रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार