शिव भट्टराई भोजपुरे/ श्रावण २६ गते
सुन्दरहरैचा। भाद्र २२ गतेदेखि देशभर प्रदर्शन भइरहेको नेपाली कथानक चलचित्र ‘हली’ले दर्शकको ध्यान तानिरहेको छ। किसानको जीवन, संघर्ष र सामाजिक परिवर्तनको सन्देश बोकेको चलचित्र हेर्न मोरङको सुन्दरहरैँचा विराटचोक स्थित बिराट सिने हलमा हिमालय इङ्लिस स्कुलका विद्यार्थीहरू पुगेका छन्।

मोरङको सुन्दरहरैचा १० स्थित हिमलय इङ्लिस स्कुलका छात्रछात्राहरूले सामूहिक रूपमा चलचित्र हेरेका थिए। चलचित्रमा किसानले भोग्नुपरेको संघर्ष, दुःख र सामाजिक अवस्थालाई प्रस्तुत गरिएको विषयले विद्यार्थीहरू भावुक बनेका थिए। चलचित्र सकिएपछि विद्यार्थीहरूले ‘हली’ मनोरञ्जनमा मात्र सीमित नभई समाज र किसानको वास्तविक जीवनसँग जोडिएको सन्देशमूलक चलचित्र भएको प्रतिक्रिया दिएका छन्।
एनप्याब्सन कोशी प्रदेशका अध्यक्ष तथा विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै समाजका वास्तविक विषय र जीवनका संघर्षसँग परिचित गराउन चलचित्र प्रदर्शनमा सहभागी गराइएको बताए। उनका अनुसार चलचित्रले विद्यार्थीमा मेहनत, इमानदारी, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनप्रतिको सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।

चलचित्र हेरेपछी विद्यार्थीहरुले किसानको जीवनमा रहेका समस्या र संघर्षलाई नजिकबाट महसुस गरेको बताएका छन्।
चलचित्रका भावनात्मक दृश्यसँगै हलभित्रै विद्यार्थी तथा अन्य दर्शकहरूको आँखा रसाएका थिए। विशेषगरी किसानको संघर्ष, पारिवारिक पीडा र छाउपडी प्रथाले महिलामाथि पार्ने प्रभाव प्रस्तुत गरिएका दृश्यले दर्शकलाई भावुक बनाएको थियो। चलचित्र सकिँदासम्म हलको वातावरण नै भावनात्मक बनेको थियो।

किसानको जीवन र संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘हली’ले देशमा सकारात्मक परिवर्तन ल्याउन एउटा इमानदार ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ। यही सन्देशलाई विद्यार्थी तथा युवामाझ पुर्याउने उद्देश्यले निर्माण टिमले शैक्षिक संस्थामार्फत दर्शकमाझ पुग्ने अभियानलाई समेत तीव्र बनाएको छ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन्। चलचित्रमा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी लगायतको अभिनय रहेको छ।
चलचित्रको विशेष गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको उपस्थिति रहेको छ। गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।
व्यवसायीद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माणमा लगानी गरेको चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी र लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य रहेका छन्। चलचित्रको छायाङ्कन राहुल राईले गरेका हुन् भने सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्।
चलचित्रमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत रहेको छ। गीतमा निर्मात्री जस्मिन श्रेष्ठको शब्द सिर्जना रहेको छ भने बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको छ।




