तेह्रथुम । नेपाली कांग्रेसका महासमिति सदस्य, कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री मानबहादुर लिम्बूले प्रदेशका विभिन्न जिल्लामा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाटलाई तीव्रता दिएका छन्। यसैक्रममा उनले आइतबार तेह्रथुम जिल्लाको म्याङ्लुङ पुगेर नेपाली कांग्रेसका स्थानीय नेता, महाधिवेशन प्रतिनिधि तथा पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट र छलफल गरेका छन्।

२०८३ कात्तिक २९ गते भएको भेटघाटमा लिम्बूले पार्टीको वर्तमान संगठनात्मक अवस्था, आन्तरिक एकता, संगठन सुदृढीकरण र भावी नेतृत्वका विषयमा छलफल गरेका थिए। भेटघाटका क्रममा उनले स्थानीय नेता तथा कार्यकर्ताका सुझाव, धारणा र अपेक्षासमेत सुनेका थिए। पार्टीलाई थप सशक्त, एकताबद्ध र गतिशील बनाउन तल्लो तहसम्मका नेता तथा कार्यकर्तासँग निरन्तर संवाद र सहकार्य आवश्यक रहेको लिम्बूको धारणा छ। प्रदेशका विभिन्न जिल्लामा पुगेर नेता तथा कार्यकर्तासँग प्रत्यक्ष संवाद गरिरहेका उनले संगठनको अवस्था बुझ्ने र भावी रणनीतिबारे छलफल गर्ने क्रमलाई निरन्तरता दिएका छन्।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका लिम्बूसँग पार्टी संगठन निर्माणको लामो अनुभव छ। लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान तथा स्वास्थ्य मन्त्री र प्रदेशसभा सदस्यका रूपमा निर्वाह गरेको जिम्मेवारी उनको राजनीतिक यात्राका महत्त्वपूर्ण पक्ष हुन्।
प्रदेशभरका नेता तथा कार्यकर्तासँगको भेटघाट र संवादलाई तीव्र बनाएका लिम्बूको सक्रियतालाई नेपाली कांग्रेसको आगामी प्रदेश नेतृत्वसँग जोडेर हेरिएको छ।
नेपाली कांग्रेसको आसन्न प्रदेश अधिवेशनमा कोशी प्रदेश सभापति पदका लागि उनले दाबेदारी प्रस्तुत गर्ने तयारी गरिरहेको चर्चा पार्टीभित्र छ। विद्यार्थी आन्दोलनबाट सुरु भएको राजनीतिक यात्रा, संगठन निर्माणको अनुभव, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान तथा सरकार र प्रदेशसभामा निर्वाह गरेको जिम्मेवारीलाई आधार बनाउँदै लिम्बूले कोशी प्रदेश कांग्रेसको नेतृत्वमा आफ्नो दाबेदारी अघि बढाइरहेका छन्।




