कोशी प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी आयोजना


Single Before Content Ad

सुन्दरहरैचा ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सातै प्रदेशमा सञ्चालन गर्दै आएको प्रादेशिक ललितकला प्रदर्शनी अन्तर्गत यस वर्षको दोस्रो प्रदर्शनी कोशी प्रदेशमा आयोजना हुने भएको छ। मोरङको बेलबारीस्थित तम् वृद्धिस्ट गुम्बामा फागुन १६ गते उद्घाटन भई २० गतेसम्म प्रदर्शनी सञ्चालन हुनेछ।

बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका अधिकारीहरूले आयोजक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सह-आयोजक बेलबारी प्रज्ञा प्रतिष्ठान रहेको जानकारी गराएका छन्। कार्यक्रमलाई कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बेलबारी नगरपालिकाले आर्थिक सहयोग गरेका छन्।

प्रदेशका १४ वटै जिल्लाका कलाकारहरूको सहभागिता रहेको प्रदर्शनीमा १८६ जना कलाकारका २२१ कलाकृतिहरू समावेश गरिएका छन्। जसमा १८ वटा समसामयिक मूर्तिकला, १२० वटा समसामयिक चित्रकला, ५ वटा परम्परागत चित्रकला, ३५ वटा हस्तकला, १६ वटा फोटोग्राफी कला तथा २८ वटा लोककला समावेश छन्। यहाँबाट छनोट गरिएका उत्कृष्ट कलाकृतिहरू राष्ट्रिय प्रदर्शनीमा समेत समावेश गरिने कोशी प्रदेश संयोजक सन्जय बान्तवाले बताए।

प्रदर्शनीका उत्कृष्ट कलाकारलाई रु.५० हजार राशिको उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार प्रदान गरिनेछ भने विभिन्न विधागत उत्कृष्ट कलाकारहरूलाई रु.२५ हजार राशिको विधागत पुरस्कार प्रदान गरिनेछ। साथै, लामो समयदेखि कलासँग संलग्न चारजना सर्जकलाई विशेष सम्मान प्रदान गरिने आयोजक समितिले जानकारी दिएको छ।

प्रदर्शनी अवधिभर विभिन्न कार्यक्रमहरू समेत आयोजना गरिनेछन्। उद्घाटन समारोह फागुन १६ गते हुनेछ भने दोस्रो दिन राष्ट्रिय कलाकारहरूको सहभागितामा कला कार्यशाला आयोजना गरिनेछ। तेस्रो दिन समसामयिक कला, लोककला तथा रैथाने कला सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ। चौथो दिन साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ भने २० गते समापन समारोहका साथ सहभागी कलाकारहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिनेछ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार