सिद्धार्थ सेकेण्डरी स्कूलको ३०औं वार्षिक उत्सव तथा अभिभावक दिवस सुरू


Single Before Content Ad

एलएन गच्छदार / सुन्दरहरैचा 

मोरङको सुन्दरहरैंचा-१० मा अवस्थित सिद्धार्थ सेकेण्डरी स्कूलले आफ्नो ३०औं वार्षिक उत्सव तथा अभिभावक दिवस आजदेखि भव्य रूपमा सुरू गरेको छ। तीन दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन्।

आज मंगलबारका दिन विशेष गरी सिद्धार्थ प्री-प्राइमरी स्कूल मोंटेश्वरी ब्लक अन्तर्गत साना नानीबाबुहरूको लागि विशेष कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रमले उनीहरूको सिर्जनात्मकता, आत्मविश्वास र सहभागिता वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रम तालिका

विद्यालयले भोलिदेखि औपचारिक रूपमा सुरु हुने मुख्य कार्यक्रम तालिका सार्वजनिक गरेको छ।

पहिलो दिन (२१ फाल्गुन २०८१)

• विद्यार्थीहरूको आदर्श कार्यक्रम अन्तर्गत गायन, नृत्य, भाषण, चित्रकला, अभिभावकहरूको लागि मराथुन, विज्ञान, गणित तथा सांस्कृतिक प्रदर्शनी आयोजना।

दोस्रो दिन (२२ फाल्गुन २०८१)

• कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको लागि सांस्कृतिक कार्यक्रम, पुरस्कार तथा छात्रवृत्ति वितरण, विज्ञान तथा गणित प्रदर्शनी सञ्चालन।

तेस्रो दिन (२३ फाल्गुन २०८१)

• कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, पुरस्कार तथा छात्रवृत्ति वितरण, रमाइलो खेल, परियोजना प्रदर्शन, शेफ प्रतियोगिता, विज्ञान, गणित तथा सांस्कृतिक प्रदर्शनीमा भाग लिने।

“सिद्धार्थ आइडल – २०८१" को आकर्षण

विद्यालयले यस वर्ष पनि विद्यार्थीहरूको प्रतिभा पहिचान गर्ने उद्देश्यसहित "सिद्धार्थ आइडल २०८१" प्रतियोगिता आयोजना गरेको छ। यस अन्तर्गत विद्यार्थीहरूले नृत्य, गायन, चित्रकला, हस्तलेखन, भाषण तथा कविता जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।

विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले वार्षिक उत्सवको अवसरमा विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई सम्बोधन गर्दै भन्नुभयोः "हाम्रो विद्यालयले ३० वर्षको गौरवमय यात्रा तय गरिसकेको छ। यस यात्रामा शिक्षाको गुणस्तर अभिवृ‌द्धि गर्दै विद्यार्थीहरूको सर्वांगीण विकासका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं। यो वार्षिक उत्सव केवल मनोरञ्जनका लागि मात्र होइन, विद्यार्थीहरूको प्रतिभा निखार्ने, उनीहरूको आत्मविश्वास बढाउने र व्यावहारिक शिक्षामा जोड दिने महत्वपूर्ण अवसर हो।"

उहाँले विद्यालयको विकासमा अहोरात्र खटिने शिक्षक, विद्यालय प्रशासन, विद्यार्थी तथा अभिभावकहरू प्रति विशेष आभार व्यक्त गर्दै थप्नुभयोः "हाम्रो मुख्य लक्ष्य अनुशासन, सीप र ज्ञानमार्फत विद्यार्थीहरूलाई उज्जवल भविष्यतर्फ डोहोऱ्याउने हो। यस उत्सवमा सहभागी हुने सबैलाई म शुभकामना व्यक्त गर्दछु।"

विद्यालय प्रशासनका अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूलाई सिर्जनशीलता, आत्मविश्वास र सीप विकासमा टेवा पुऱ्याउने विश्वास लिइएको छ। अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागितासहित कार्यक्रम भव्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार