नोबेल मेडिकल कलेजमा नेपालमै दुर्लभ मानिने अपरेसन, कोक्लियर इम्प्लान्ट — सफलता पूर्वक सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा /

काठमाडौं उपत्यका बाहिर पहिलोपटक कोक्लियर इम्प्लान्ट सेवा नोबेल शिक्षण अस्पताल, विराटनगरमा सुरु गरिएको छ । जन्मजात रूपमा सुन्न नसक्ने बालबालिकालाई सुन्न सक्ने बनाउने उद्देश्यले गरिएको सफल शल्यक्रियाको अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।

नोबेल अस्पताल, कन्चनबारी, विराटनगर–४ मा सम्पन्न पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका सल्लाहकार सोइना शर्मा, अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल, नाक, कान, घाँटी रोग विभाग प्रमुख डा. मीनाक्षी बस्नेत, तथा नाक, कान, घाँटी विशेषज्ञ डा. शंकरप्रसाद साहको उपस्थिति रहेको थियो । कार्यक्रममा अस्पतालका महाप्रबन्धक दीपेश राईले सहजीकरण गरेका थिए ।

कोक्लियर इम्प्लान्ट प्रविधिबाट हालै सम्पन्न शल्यक्रियाको नेतृत्व डा. शंकरप्रसाद साहको टोलीले गरेका थिए । जन्मजात रूपमा श्रवण शक्ति नभएका केही बालबालिकामा गरिएको सफल शल्यक्रियापछि उनीहरूले सुन्न थालेको खबर सार्वजनिक भएको हो । बालबालिकाको श्रवण शक्ति पुनः प्राप्त भएसँगै अभिभावकहरू भावुक हुँदै आफ्ना अनुभवहरू सुनाएका थिए ।

कार्यक्रममा चिकित्सकहरूद्वारा कोक्लियर इम्प्लान्टको प्रक्रिया, यसको दीर्घकालीन लाभ र नेपालमा यसको विस्तारको आवश्यकता बारे जानकारी दिइयो । साथै बालबालिकामा देखिने श्रवण समस्यालाई समयमा नै परीक्षण र उपचार गरिनु आवश्यक रहेकोमा सबैले जोड दिए ।

डा. बस्नेत, डा. साह र प्रा. डा. नेपालले पत्रकारहरूको जिज्ञासाहरूको उत्तर दिँदै कोक्लियर इम्प्लान्ट सेवाले भविष्यमा देशभरका श्रवण समस्याग्रस्त बालबालिकाका लागि जीवन परिवर्तन गर्ने विश्वास व्यक्त गरे । नोबेल अस्पतालमा सुरू गरिएको यो सेवा कोशी प्रदेश र आसपासका क्षेत्रका श्रवण समस्या भएका बालबालिकाहरूका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार