एलएन गच्छदार। नेपाल राष्ट्रका प्रथम जगतगुरु मोहनशरण देवाचार्य महाराजज्यूको पावन सान्निध्यमा सम्पन्न बृहत धार्मिकसभा तथा नागरिक अभिनन्दन कार्यक्रम २०८२ मा सुन्दरहरैंचा–१० त्रिवेणीचोक निवासी श्री कमल प्रसाद खनाललाई सम्मान पत्र प्रदान गरिएको छ।
कार्यक्रममा धार्मिक सिद्धान्त, संस्कार र समुदायमा सकारात्मक योगदान पुर्याउने व्यक्तित्वहरूको कदर स्वरूप सम्मान प्रदान गरिएको थियो।
हिमालय इंगलिस स्कुलका संस्थापक प्रधानाध्यापकका रूपमा १७ वर्षदेखि कर्तव्य, प्रतिबद्धता र शैक्षिक समर्पणसहित विद्यालय सञ्चालन गर्दै आउनु भएका खनाल सानै उमेरदेखि नै शिक्षा क्षेत्रमा स्पष्ट दृष्टि, समाजप्रति संवेदनशील भावना र बाल–भविष्य निर्माणप्रति समर्पित मानिन्छन्।
उनका दायित्व केवल विद्यालय संचालनमा मात्र सीमित छैनन्, उनले समुदायको चेतना, अनुशासन र मूल्यबोध जगेर्नामा समेत निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
Exito Events Australia द्वारा मलेसियामा आयोजित International Excellence Award अन्तर्गत Outstanding Principal Award प्राप्त गर्दै खनालले केवल आफ्नै प्रतिष्ठा मात्र नभई सुन्दरहरैंचाको शैक्षिक सम्मानलाई अन्तर्राष्ट्रिय स्तरमा चम्काउन सफल भएका थिए।
उनको नेतृत्वमा Himalaya English School आज केवल विद्यालय मात्र रहेन, यो शिक्षा, संस्कार र चरित्र निर्माणको केन्द्रका रूपमा परिचित छ।
विद्यालयभित्र विद्यार्थी मुस्कानसँग सिक्छन्, शिक्षक मान–आदरका साथ पढाउँछन्, र अभिभावकले भविष्य सुरक्षित भएको अनुभूति गर्छन्।व्यवहारमा सरल, स्वभावमा विनम्र र विचारमा दृढ खनालले व्यक्तिगत उपलब्धिभन्दा धेरै थप समुदायको उन्नतिलाई आफ्नो लक्ष्य बनाएका छन्।
शैक्षिक छाता संगठन नेशनल प्याब्सन कोशी प्रदेशमा सह–सचिवको भूमिकामा रहँदै उनले क्षेत्रीय शैक्षिक सुधार, सुझाव र सहकार्यमा नेतृत्वदायी योगदान पुर्याइरहेका छन्।
समारोहमा जगतगुरु मोहनशरण देवाचार्य महाराजज्यू, धार्मिक अगुवा, समाजसेवी तथा स्थानीय समुदायका अगुवाहरूको उपस्थितिमा श्री पुरातन वैदिक सनातन धार्मिक प्रवर्धन समिति मोरङ र इन्द्रपुर समस्त भजन सञ्जालले संयुक्त रूपमा सम्मान पत्र प्रदान गरेका थिए।
कार्यक्रममा उपस्थित अतिथि तथा स्थानीयहरूबाट खनालको निष्कलंक सेवा, विनम्र व्यवहार र शैक्षिक समर्पणको उच्च प्रशंसा गरिएको थियो।
हिमालय इंगलिस स्कूल केवल भवन र पाठ्यक्रमको नाम होइन। यो त्यहाँ कार्यरत नेतृत्व र मन, मस्तिष्क र मूल्यको स्वरूप हो। र, त्यही मन र मूल्यको केन्द्रमा कमल प्रसाद खनाल हुनुहुन्छ।
विद्यालयका अभिभावक, विद्यार्थी र समुदायका नजरमा खनाल हिमालय विद्यालयका मात्र प्रधानाध्यापक होइनन्, उहाँ विद्यालयको पहिचान, आत्मा र गहना हुनुभएको छ।

