सुन्दरहरैचा ।
विराटनगर महानगरपालिका–५ स्थित सम्झना टोल विकास संस्थाले आफ्नो २६ औं बार्षिक साधारण सभाको अवसरमा पत्रकार केशव भट्टराई विरानगरमा सम्मानित गरेको छ । ११ हजार १११ रुपैयाँ राशी सहित पत्रकार भट्टराईलाई कदरपत्रले सम्मानित गरिएको हो ।
विभिन्न सञ्चारमाध्यमहरुमार्फत टोल विकास संस्थाका गतिविधिलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पत्रकार भट्टराईलाई सम्मानित गरिएको हो ।
शनिबार सम्पन्न साधारणसभाको अवसरमा असल वचतकर्ता ७१ वर्षीय रामकुमार श्रेष्ठ, असल ऋणी ८३ वर्षीया भगमाया गिरी र विरुवा संरक्षण, सरसफाई जस्ता सामाजिक कार्यमा महत्वपूर्ण योगदान गरेका ८२ वर्षीय हेमराज बस्नेतलाई समेत नगद र कदरपत्रसहित सम्मानित गरिएको जनाइएको छ ।
सोही अवसरमा वृक्षारोपण र सडक विकास निर्माणमा प्रभावकारी योगदान गरेवापत सिद्धिमार्ग विकास संस्थाका अध्यक्ष तिलक थापालाई नगद ५ हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको जनाइएको छ ।
टोल विकास संस्थाको साधारणसभाले अध्यक्षमा केदार कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्षमा अञ्जुश्री श्रेष्ठ, सचिवमा केदार गिरी र कोषाध्यक्षमा सरस्वती ढकाल चयन भएका छन् । सदस्यहरूमा मैया निरौला घिमिरे, मिना दाहाल, दिर्घलक्ष्मी श्रेष्ठ, विनय तिवारी, टेकबहादुर श्रेष्ठ, रामकुमार श्रेष्ठ र कुश कार्की क्षेत्री चयन भएका छन् ।
विराटनगर महानगरपालिका–५ का वडाध्यक्ष सन्तोष न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभाले अध्यक्ष कार्कीद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन पारित गरेको जनाइएको छ ।उक्त अवसरमा टोेल विकास संस्थाकी उपाध्यक्ष यामुन मेहत्ताले प्रस्तुत गरेको विनिमय र संस्थाको विधानसहित अक्षयकोष विनियमलाई सर्वसम्मत रुपमा पारित गरेको जनाइएको छ ।

