ज्ञान ज्योति स्कूलको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैंचा-७ गोठगाउँस्थित ज्ञान ज्योति इङ्लिस स्कूलको २७औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। मंगलबार विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा नगर उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्य रहेको थियो। उनले विद्यालयले हासिल गरेको प्रगति प्रति खुशी व्यक्त गर्दै विद्यार्थीको पहिलो र महत्वपूर्ण शिक्षा घरबाटै सुरु हुनुपर्नेमा जोड दिइन्। साथै, नगरपालिकाले सञ्चालन गरेको "छात्रासँग उपमेयर" कार्यक्रम निजी विद्यालयहरूमा पनि विस्तार गरिने जानकारी दिइन्।

२०५२ सालमा सानो टहराबाट सुरु भएको विद्यालय हाल सुविधासम्पन्न भौतिक पूर्वाधारसहित सञ्चालनमा रहेको छ। यसै विद्यालयकी विद्यार्थी संकृती दाहाल यस वर्षको एसईई परीक्षामा मोरङ जिल्लामै प्रथम भएकी छिन् ।कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कविता तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थितलाई मनोरञ्जन प्रदान गरे। विद्यालयका शिक्षिकाहरूले समेत विशेष नृत्य प्रस्तुत गरेका थिए। 

विद्यालयका संस्थापक प्रिन्सिपल देवी सिटौलाका अनुसार, कार्यक्रममा विज्ञान प्रदर्शनी, सांस्कृतिक भेषभूषा प्रदर्शनी, अभिभावक कार्यशाला लगायतका गतिविधिहरू सम्पन्न भए। विज्ञान प्रदर्शनीअन्तर्गत विभिन्न स्टलहरूमा विद्यार्थीहरूले वैज्ञानिक अवधारणाहरू प्रायोगिक रूपमा प्रदर्शन गरे।

सन्देशमूलक नाटक मञ्चन गर्दै प्रविधिको दुरुपयोगले अन्धकारमय जीवन निम्त्याउन सक्ने चेतावनीसमेत दिइयो। साथै, सांस्कृतिक तथा परम्परागत रैथाने सामग्रीको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइयो। कार्यक्रमका अवसरमा नेपाली लोक तथा दोहोरी गीत गायन क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै स्थानीय रमेश आचार्य तथा नेपाली लोक बाजा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका जंगबहादुर त्रिखत्रीलाई प्रशंसापत्रद्वारा सम्मान गरियो।

स्वतन्त्र नागरिक समाजका नगर अध्यक्ष चिरञ्जीवी सिवाकोटी, समाजसेवी रविन्द्र आचार्य, दुर्गा भट्टराई, शिक्षासेवी टोमबहादुर श्रेष्ठ, वडा अध्यक्ष भुवन सिंह आले मगर लगायतका व्यक्तित्वहरूले विद्यालयको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगतितर्फ अघि बढ्न शुभकामना व्यक्त गरे।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार