सुन्दरहरैचा/ मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित द राइजिङ इङ्लिस सेकेन्डरी स्कुलमा अध्ययन गरेका केही युवाहरूले यही विद्यालयबाटै आफ्नो आईटी कम्पनी अव्यन्त टेक प्रा.लि. को औपचारिक सुरुवात गरेर उदाहरणीय काम गरेका छन्।

कम्पनीले शुक्रबार द राइजिङ इङ्लिस सेकेन्डरी स्कुलमै अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी आईटीसम्बन्धी एक दिने कार्यशाला सञ्चालन गर्दै आफ्ना सेवाहरूको औपचारिक शुभारम्भ गरेको हो। आफूले शिक्षा आर्जन गरेको थलोबाटै प्रविधिमा आधारित व्यवसाय सुरु गर्नुले कार्यक्रमलाई अझ भावनात्मक र प्रेरणादायी बनाएको थियो।
कम्पनीका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन दाहालका अनुसार अव्यन्त टेकले वेबसाइट तथा मोबाइल एप्लिकेसन निर्माण, सफ्टवेयर विकास, आईटीसम्बन्धी विभिन्न तालिम तथा डिजिटल मार्केटिङ सेवालाई मुख्य प्राथमिकतामा राखेर सेवा प्रदान गर्नेछ। “देशमै रहेर र विदेशमा रहेर पनि प्रविधि क्षेत्रमा अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिन खोजेका छौँ,” दाहालले बताउनुभयो।
कम्पनीका संस्थापक निर्देशक रोहन पौडेल अस्ट्रेलियाबाट संलग्न रहनु भएको छ भने उहाँले विदेशबाटै सेवा प्रदान गर्नुहुने छ। यस्तै, आशुतोष भट्टराई प्रमुख प्रविधि अधिकृत, प्रवेश ओझा सञ्चालन व्यवस्थापक रहनु भएको छ। दिवस गिरी क्लाइन्ट सक्सेस म्यानेजरका रूपमा अस्ट्रेलियाबाट आबद्ध रहनु भएको कम्पनीले जनाएको छ। विदेशमै रहेर आईटी क्षेत्रमा काम गरिरहेका युवाहरूको अनुभवलाई नेपालमै प्रयोग गर्दै कम्पनीले नवीन र आधुनिक ढङ्गले सेवा दिने योजना बनाएको सञ्चालकहरू बताउँछन्।
कार्यक्रमका क्रममा द राइजिङ इङ्लिस सेकेन्डरी स्कुलमै अध्यरत विद्यार्थीहरूलाई आईटीसम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको थियो। विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा भविष्य खोज्न प्रेरित गर्ने उद्देश्यले कार्यशालामा विभिन्न विषयमा छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका अध्यक्ष सुरेन्द्र बहादुर थापाले आफ्नै विद्यालयका पूर्व विद्यार्थीहरूले विद्यालयबाटै कम्पनी लन्च गर्नु गर्वको विषय भएको बताउनुभयो। उहाँले युवाहरू मिलेर देशमै प्रविधिमा आधारित व्यवसाय सञ्चालन गर्नु वैदेशिक रोजगारीको सकारात्मक विकल्प भएको उल्लेख गर्दै विदेशमा रहेर पनि नेपालमा लगानी गरी व्यवसाय सञ्चालन गर्नु उदाहरणीय कार्य भएको धारणा व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक गोपाल पाठकले आफ्ना पूर्व विद्यार्थीहरू प्रविधि क्षेत्रमा अघि बढ्दै व्यवसायमा संलग्न भएको देख्दा अत्यन्त खुशी लागेको बताउनुभयो। “व्यवसायमा चुनौतीहरू आउँछन्, तर धैर्य, लगनशीलता र निरन्तर मेहनत गरे सफलता सम्भव छ,” उहाँले विद्यार्थीहरूलाई सन्देश दिनुभयो।
द राइजिङ इङ्लिस सेकेन्डरी स्कुलमै पढेका युवाहरूले यहीँबाट आफ्नो सपना लन्च गर्नु केवल एक कम्पनीको सुरुवात मात्र होइन, ग्रामीण भेगबाट पनि प्रविधिको यात्रा सुरु हुन सक्छ भन्ने सशक्त सन्देश बनेको छ।

