सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे। आश्विन १५ गते
मोरङको सुन्दरहरैँचा–१०, खोर्साने स्थित हातेमालो बहुउद्देशीय सहकारी संस्थाले आफ्नो २५औँ स्थापना दिवस अर्थात् रजत जयन्तीको अवसरमा बिहीबार रजत जयन्तीको लोगो अनावरण गरेको छ।
संस्थाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं, संस्थाका पुर्व अध्यक्ष, सल्लाहकार , कर्मचारी लगायत संस्थाका पदाधिकारीहरुको उपस्थितिमा रजत जयन्तीको लोगो अनावरण गरिएको छ। २५ वर्षे संस्थागत यात्रालाई स्मरणीय बनाउने उद्देश्यले तयार पारिएको लोगोमार्फत संस्थाको दीर्घकालीन यात्रा, सदस्यसँगको सहकार्य र समुदायसँगको सम्बन्धलाई प्रस्तुत गरिएको संस्थाले जनाएको छ।

लोगो अनावरण कार्यक्रममा नगरप्रमुख गुरागाईंले हातेमालो बहुउद्देशीय सहकारीले २५ वर्षको अवधिमा वित्तीय सेवासँगै सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो। उहाँले सदस्यको आर्थिक विकास, समुदायसँगको सहकार्य तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा संस्थाले गर्दै आएका गतिविधिको प्रशंसा गर्दै २५ वर्षसम्म निरन्तरता पाउनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि संस्थाले सदस्य र समुदायको हितलाई केन्द्रमा राखेर आफ्नो भूमिका थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

रजत जयन्ती सप्ताह अन्तर्गत यसअघि असोज ११ गते निःशुल्क आँखा शिविर, असोज १२ गते चेस प्रतियोगिता तथा असोज १३ गते अन्तरक्रिया र विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भइसकेका छन्।
भोलि हुने २४औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहमा संस्थाको २५ वर्षे यात्रालाई समेटिएको पुस्तक विमोचनसहित विभिन्न कार्यक्रम आयोजना हुने संस्थाका अध्यक्ष हेमराज सुवेदीले जानकारी दिनुभयो।




