सुन्दरहरैँचा, मोरङ ।शिव भट्टराई भोजपुरे
मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा एनेस्थेसिया विभागमा विशेषज्ञ चिकित्सक नियुक्त गरिएसँगै मेजर ओ.टी. (Major OT) सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ।
अस्पतालले २०८३ साउन २३ गतेदेखि एनेस्थेसिया तथा सर्जरी विभागको संयुक्त पहलमा मेजर ओ.टी. सेवा सञ्चालनमा ल्याएको हो। मेजर ओ.टी. सेवा सुरु भएसँगै अस्पतालको उपचार सेवा थप विस्तार भएको छ भने यस क्षेत्रका सेवाग्राहीले प्रमुख तथा जटिल शल्यक्रियाका लागि स्थानीयस्तरमै सेवा प्राप्त गर्न सक्ने भएका छन्।

अस्पतालमा भेन्टिलेटर सेवा समेत विस्तार गरिएको छ। त्यस्तै, गाइनो (Gyno) विभागमार्फत डेलिभरी सेवा सञ्चालन गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ। आगामी दिनमा अस्पतालको उपचार सेवा थप विस्तार गर्दै यसै वर्षदेखि आई.सी.यू. (ICU), एन.आई.सी.यू. (NICU) र पी.आई.सी.यू. (PICU) सेवा समेत सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक प्रो. डा. धिरेन्द्र कुमार गिरीले अस्पतालमा विशेषज्ञ सेवा तथा आवश्यक पूर्वाधार विस्तार गर्दै उपचार सेवाको दायरा फराकिलो बनाउने कार्य भइरहेको जानकारी दिनुभएको थियो। उहाँका अनुसार अस्पतालमा थप सेवा उपलब्ध गराउँदै बिरामीलाई स्थानीयस्तरमै गुणस्तरीय उपचार प्रदान गर्ने लक्ष्य रहेको छ।
मेजर ओ.टी. सेवा सञ्चालनमा आएपछि गरिएको पहिलो शल्यक्रिया समेत सफल भएको अस्पतालले जनाएको छ। पहिलोपटक सफल शल्यक्रिया गरिएका बालककी आमा दुर्गा राईले शल्यक्रिया सफल भएकोमा खुसी व्यक्त गर्दै उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।
विशेषज्ञ चिकित्सकको उपलब्धता, मेजर ओ.टी. सेवा सञ्चालन तथा आगामी दिनमा आई.सी.यू., एन.आई.सी.यू., पी.आई.सी.यू. लगायतका सेवा विस्तार गर्ने तयारीसँगै पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालले सुन्दरहरैँचा तथा आसपासका क्षेत्रका नागरिकलाई थप सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।




