सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे, आश्विन ४ गते
मोरङको सुन्दरहरैँचा–१० स्थित सिटी सफारी चालक परिवार, सुन्दरहरैँचाको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले लीलामणि बार्हकोटीको अध्यक्षतामा नयाँ कार्यसमितिसमेत चयन गरेको छ।

सुन्दरहरैँचा–१० त्रिवेणी चोकस्थित साकेला थानको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष लीलामणि बार्हकोटीको अध्यक्षता तथा ट्राफिक प्रहरी पोस्ट विराटचोकका प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगरको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा संस्थाका तर्फबाट तुलसी जङ कार्कीले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष मदन चौलागाईंले संस्थाको आय-व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए।।

साधारण सभाका क्रममा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, चालकहरूको पेशागत हित तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सिटी सफारी चालकहरूलाई ज्याकेट वितरण गर्नुका साथै इमानदारीको उदाहरण प्रस्तुत गर्ने चालक सलबहादुर भुजेललाई सम्मान गरिएको थियो।त्यसैगरि सोही अवसरमा
संस्थाले कोषाध्यक्ष मदन चौलागाईंलाई पनि सम्मान गरेको थियो। व्यक्तिगत तथा बसाइँसराइका कारण पदबाट राजीनामा दिएका चौलागाईंले चालकहरूको हकहित र संस्थाको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरेको थियो।
साधारण सभाले लीलामणि बार्हकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा शर्मिला घिमिरे, सचिवमा भीमबहादुर बोगटी र कोषाध्यक्षमा सुदीप श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा राजेन्द्र भण्डारी, राजकुमार काफ्ले, प्रेम कार्की, तुलाराम माझी र तोयानाथ खनाल चयन भएका छन्।
साधारण सभाका अवसरमा सुन्दरहरैँचा–१० निवासी सलबहादुर भुजेललाई ‘इमानदारी तथा सामाजिक उत्तरदायित्व सम्मान’ प्रदान गरिएको थियो। भुजेलले आफ्नो पेशागत कार्यका क्रममा बाटोमा फेला पारेको तीन लाख रुपैयाँ नगद सम्बन्धित धनीको पहिचान गरी सिटी सफारी चालक परिवारको रोहवरमा फिर्ता गरेका थिए। उनको इमानदारी र सामाजिक उत्तरदायित्वको कदर गर्दै संस्थाले सम्मानपत्रसहित सम्मान गरेको हो।
संस्थाका सचिव भिम बहादुर बोगटिले संचालन गरेको उक्त कार्यक्रममा सिटी सफारी चालक परिवारले देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ राहत कोषमा सहयोग गर्ने घोषणा गरेको छ। विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै संस्थाले राहत अभियानमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगरले सिटी सफारी चालकहरू सार्वजनिक यातायात सेवाका महत्त्वपूर्ण अंग भएको बताउँदै यात्रुको सुरक्षा, ट्राफिक नियमको पालना र सेवाग्राहीप्रतिको जिम्मेवार व्यवहारलाई प्राथमिकता दिन आग्रह गरे। संस्थाले चालकहरूको सम्मान तथा विपद्का समयमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको उनको भनाइ थियो।
संस्थाका अध्यक्ष लीलामणि बार्हकोटीले चालकहरूको हकहित, पेशागत सुरक्षा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर संस्था अघि बढिरहेको बताए। इमानदारीको सम्मान तथा सामाजिक सेवाका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संस्थाका पदाधिकारी, सिटी सफारी चालक, सदस्य तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो।




