शिव भट्टराई भोजपुरे/ असार २८ गते
मोरङको सुन्दरहरैचा ४ स्थित गछिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो साधारणसभा आज विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। समितिका सचिव तोयानाथ न्यौपाने (कमल) ले सञ्चालन गर्नुभएको कार्यक्रममा समितिका अध्यक्ष उमेश वस्तीको अध्यक्षता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका संयोजक अजम्बर राई रहनुभएको थियो। कार्यक्रममा सुन्दरहरैचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत, नगर कार्यपालिका सदस्य दुर्गा पोखरेल, पूर्व निर्वाचन समितिका संयोजक तथा बुद्धिजीवी पितकुमार श्रेष्ठ तथा सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र राई लगायत अन्य सामाजिक तथा राजनितिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि राईले स्वच्छ खानेपानी प्रत्येक नागरिकको आधारभूत आवश्यकता भएकाले यसको दिगो व्यवस्थापनमा उपभोक्ता समिति, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो। उहाँले खानेपानी आयोजनाको संरक्षण, पारदर्शी व्यवस्थापन र सेवा विस्तारमा सबै उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै संस्थागत सुशासनलाई थप मजबुत बनाउन आग्रह गर्नुभयो। साथै, गुणस्तरीय खानेपानी सेवामार्फत नागरिकको जीवनस्तर सुधार गर्न सबै पक्षले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
साधारणसभामा समितिको वार्षिक प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। कार्यक्रममा वक्ताहरूले स्वच्छ खानेपानी, दिगो सरसफाइ तथा उपभोक्तामैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा उपस्थित उपभोक्ता, जनप्रतिनिधि तथा सरोकारवालाहरूले समितिको आगामी योजनाको सफल कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।




