सुन्दरहरैचा/
उर्लाबारीमा छुरा प्रहार गरी फरार भएका सुवाश लामा (तामाङ) पक्राउ परेका छन् । बुधबार साँझ ६:३० बजे सुन्दरहरैचा-४ दुलारीबाट सुवाशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
उर्लाबारीबाट प्रहरी निरिक्षक दासको कमान्डमा खटिएको टोलीसहित अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीको टोलीले लामालाई चेकजाँच गर्ने क्रममा पक्राउ गर्न सफल भएको प्रवक्ता बस्नेतले बताए ।लामाले मंगलबार साँझ करिव ७:२० बजे आफ्नै घरमा उर्लाबारी वडा नम्बर ४ आईतबारेका २१ वर्षिय कुशल दाहाललाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।प्रहरीकाअनुसार दाहाललाई छुरा प्रहार गरि उनी फरार भएका थिए ।
यता छुरा प्रहारबाट गम्भिर घाईते बनेका दाहाललाई उपचारको लागि तत्काल उर्लाबारीस्थित गोदावरी अस्पताल लगिएको थियो । गोदावरीमा उनको उपचार सम्भव नभएपछि अस्पतालले दमकस्थित लाईफ लाइन अस्पताल रिफर गरिएको थियो । लाईफ लाइनमा समेत उनको उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि झापास्थित वि.एण्ड.सी. अस्पताल लगिएतापनि उपचारको क्रममा राती ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार पक्राउ परेका उर्लाबारी -५ निवासी ३५ वर्षिय लामा अपराधिक पृष्ठभुमीका हुन् । उनी यसअघि करिव १० वर्ष कैद सजाय भोगेर केहि समयअघि मात्रै रिहाई भएका थिए।
मोरङ प्रहरीका अनुसार लामा कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरी करिब तीन महिनाअघि मात्रै छुटेका थिए । अपराधिक पृष्टभूमिका लामाले वि.सं. २०७१ सालमा आफ्नै एक साथीको ढुंगाले हानेर हत्या गरेको प्रवक्ता बस्नेतले बताए।प्रहरीका अनुसार वि.सं. २०७१ असोज ८ गते राति उर्लाबारी वडा नम्बर २ का नविन राईको लामाले हत्या गरेका थिए ।
लामाले राईको हत्या गर्दा हालका मोरङ प्रहरी उपरीक्षक नवराज कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीको इञ्चार्ज थिए ।तत्कालीन प्रहरी निरीक्षक कार्कीले नै गरेको अनुसन्धानका आधारमा लामामाथि कर्तब्य ज्यान मुद्दा चलेको थियो ।
कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजायपछि उनी केही महिनाअघि मात्रै छुटेका थिए ।यस्तै लामालाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए ।