सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले नगरस्तरीय फुटबल प्रतियोगितामा पुनः ऐतिहासिक सफलता हासिल गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका नगरकार्य समिति प्याबसनद्वारा आयोजित राष्ट्रपति कप अन्डर–१५ फुटबल प्रतियोगिताको कप सिद्धार्थ सेकेन्डरी स्कुलको पोल्टामा परेको छ। सोमबार गछिया खेल मैदानमा भएको फाईनल खेलमा सिद्धार्थ सेकेन्डरी र पूर्वाञ्चल एकेडेमी बीच प्रतिस्पर्धा भएको थियो।

यस अघि २०८०, २०८१ सालमा पनि च्याम्पियन बनेको उक्त टोलीले यस वर्ष पनि आफ्नो वर्चस्व कायम राख्दै लगातार तेस्रो पटक विजय यात्रा दोहोर्याएको छ। खेलमा अनुशासन र खेल कौशल प्रस्तुत गर्दै प्रतिस्पर्धी टोलीलाई पराजित गरेको विद्यालयले जनाएको छ।

टोलीको यस सफलताले विद्यालयको खेलकुद क्षेत्रमा मात्र होइन, समग्र शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत सिद्धार्थ सेकेन्डरी स्कुल अग्रणी रहेको प्रमाणित गरेको विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतकाे भनाइ रहेको छ ।
बालबालिकामा खेलकुदप्रति रुचि विकास गर्ने, अनुशासन र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेलमा २२ वटा बिद्यालयका १५ वर्ष मुनिका छात्रहरुको सहभागीता रहेको प्याबसन सुन्दरहरैंचाका अध्यक्ष दिपक क्षेत्रीले बताए।
खेलमा उत्कृष्ट खेलाडी सिद्धार्थका सोमाहाङ लिम्बु, सर्वोत्कृष्ट गोलकर्ता पूर्वाञ्चल एकेडेमीका अमन गुरुङ, उत्कृष्ट गोलकिपर सिद्धार्थका युनिक धिमाल र म्यान अफ द सिरिज पूर्वाञ्चल एकेडेमीका मनिष चौधरी भएका थिए।
खेलमा विजेता- उपविजेता टिम तथा खेलाडीहरूलाई प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाई, प्याप्सनका केन्द्रीय उपाध्यक्ष टिकाराम ढकाल लगायतले नगद पुरस्कार पदक कप शिल्ड प्रदान गरेका थिए।

